पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारको ३ करोड

पोखरा, भदौ १७ ।
खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कलाई प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू बर्षभित्रै पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

‘चिडियाखाना निर्माणाधीन छ । यसलाई थप ब्यवस्थित बनाई बृहत्तर विकासका लागि सरकारले यो बर्ष ३ करोड विनियोजन गरेको छ, पर्यटन मन्त्रालयलका सचिव बुद्धीसागर पौडेलले भने–डेढ करोड डिपिआर बनाउन र डेढ करोड वन्यजन्तु उद्धार संरक्षण केन्द्र स्थापना गर्न बजेट छुट्याईएको हो ।’

उनका अनुसार बजेट निकासाको प्रक्रियामा छन् । प्रदेश सरकारले चालू बर्षको बजेट बनाउँदा नै पोरखामा चिडियाखाना निर्माण गर्ने योजना अघि सारेको थियो । पार्कमा हाल मृग रतुवा ८, अजिंगर १, निलगाई १, स्याल १, बाँदर १, हुचिल ६, गिद्ध २, चिल ३, बनविरालो २, जरायो १, खरायो १५, लाटोकोसेरो २ वटा छन् ।

पार्क निर्माणका लागि पोखरा युनाईटेड क्लबले वर्षेनी आयोजना गर्दै आईरहेको पोखरा महोत्सवबाट आम्दानी हुने रकमको केही प्रतिशत सहयोग हस्तान्तरण गर्दै आईरहेको छ । यसअघि जिल्ला विकास समिति र पोखरा तथा लेखनाथ नगरपालिकाले पनि सहयोग गरेका थिए ।