पोखरामा खानेपानी आयोजना बन्दै, मन्त्रीले पानीमा राजनीति गरेको आरोप

पोखरा, साउन २ ।
दुईवर्षपछि महानगरपालिका दुई वडाबासीमा सहज खानेपानीको पहँुच पुग्ने छ । पोखराको मुख्यबजारदेखि केबल ६ किलोमिटर दुरीमा रहेर पनि वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका कृस्ति, भरतपोखरी र निर्मलपोखरीबासीले दुईवर्षपछि खानेपानीको सहज उपलब्धता हुने विश्वास लिएका छन् । खानेपानी आयोजनाको गत जेठमा ठेक्का टेण्डर पुरा गरिसकिएको छ । जिम्मेवारी मृत सञ्जिबनी नामक कम्पनीले लिएको छ । आगामी भदौदेखि आयोजनाको काम शुरु गर्ने जनाइएको छ ।

साविकका तीन गाविस कृस्ति, निर्मलपोखरी र भरतपोखरीमा सहलगानीमा खानेपानी आयोजना अगाडि बढाएका हुन् । ‘कृस्ति निर्मलपोखरी भरतपोखरी सहलगानी खानेपानी आयोजना’ पुरा भएपछि महानगरपालिकाभित्र छिरेका वडा नं २१ र ३३(साविक तीन गाविस) का माथिल्लो भेगका दुईहजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने आयोजनाका अध्यक्ष दाताराम आचार्यले बताए । ‘वर्षौदेखि खानेपानीको पीडालाई अन्त्य गर्न स्थानीयको सक्रियतामा सहलगानीमा आयोजना अगाडि बढाएका हौ ।’ उनले भने–‘आयोजना दुई वर्षभित्रमा सक्ने लक्ष्यसहित भदौदेखि कम्पनीले काम शुरु गर्ने छ ।’ आवश्यक सर्भे भईसकेको छ । कम्पनीले पहिलो किस्ता स्वरुप पेश्की रकमको रुपमा लिईसकेको उनको भनाई थियो ।

आयोजना २९ करोड रुपैयाँको हो । सहलगानी अन्तर्गत स्थानीय २ हजार घरधुरीले १५ हजारको दरले आर्थिक सहयोग जुटाएका छन् । महानगरपालिकाले २० प्रतिशत रकम सहयोग गर्नुपर्ने हुन्छ । सरकारले ७० प्रतिशत लगानी गर्ने छ । सरकारले ७ करोड रुपैयाँ उपलब्ध गराएको छ । पहिलो वर्षमा संकलित रकमबाट काम अघि बढाइएको उनले सुनाए । ‘सहलगानी अन्तर्गत महानगरपालिकाले २० प्रतिशत रकम उपलब्ध गराईसकेको छैन् ।’ उनले भने–‘पत्रचार गरिएको छ । बजेट छुट्टिने आशामा छौं ।’ महानगरपालिकाले २० प्रतिशत ५ करोड रुपैयाँ निकासा गर्नुपर्ने दायित्व हुन्छ । स्थानीयबासीले १० प्रतिशत रकम जुटाएर पानी किनेर खान्छौ भन्दा समेत महानगरपालिकाले बजेट नहाल्दिएको गुनासो गरेका छन् । उनले खानेपानीको लागि महानगरपालिकाले स्थानीयबासीलाई सहुलियत दिनुपर्ने खाँचो औल्याए ।

खानेपानीको लागि फुस्रे खोलामा दुईलाख लिटरका दुईवटा ट्याङकी निर्माण गरिने छ । फिल्टर गरिएको पानीलाई विभिन्न ठाँउमा पानी ट्याङकी निर्माण गरी पाईप मार्फत घरको धारासम्म पु¥याईने छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ कृस्ति–निर्मलपोखरीले २० लाख गत वर्ष र यो वर्ष १ लाख गरी २१ लाख रुपैयाँ खानेपानी आयोजनाको लागि निकासा गरिसकेको छ । तर वडा नं ३३ भरतपोखरीले भने वडास्तरीय बजेट निकासा गर्न आनकानी गरेको स्थानीयले गुनासो गरेका छन् । ३३ का वडाध्यक्ष शिव आचार्यसँग भने सम्पर्क हुन सकेन् ।

खानेपानीको आयोजना पुरा भएपछि २३.५ लिटर प्रतिसेकेण्ड खानेपानी घरको धारामा पुग्ने आयोजनाका अध्यक्ष आचार्यले दावी गरे । ‘आयोजना पुरा भएपछि दुईहजार घरधुरीलाई २४सैं घण्टा पानी उपलब्ध हुने छ ।’उनले भने –‘वर्षौदेखिको काकाकुलको अवस्थाको अन्त्य गर्न जागरुक हुदैं आयोजना पुरा गर्ने दृढता लिएका हौं ।’ स्थानीयले दृढता नलिदाँ आयोजना अगाडि बढ्न सकेको थिएन् । दुई वडाको लागि समस्याको रुपमा देखिएको खानेपानी केवल चुनावी राजनीति मात्रै हुदैं आएको दुखेसो समेत उनको थियो ।

‘हाम्रो गाँउको खानेपानी समस्या केवल चुनावी राजनीति मात्रै बन्यो ।’ उनले भने–‘चुनावमा मुख्य एजेण्डा बन्यो तर पुरा गर्ने चासो कहिल्यै दिएनन् ।’ चुनाव जितेका बर्तमान सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका रविन्द्र अधिकारीले चुनावी समेतमा चार करोड रुपैयाँ हाल्छु भन्दै गरेको प्रतिबद्धता समेत कार्यान्वयन गर्न अग्रसर नदेखिएको स्थानीयको भनाई थियो । दुवै वडाको तल्लो तटिय क्षेत्रका लागि ३४ करोडको लागतमा स्मल टाउन खानेपानी आयोजना समेत अगाडि बढिरहेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ कृस्ति निर्मलपोखरीका वडाध्यक्ष खगराज आचार्यले सम्झौताको दुईवर्षभित्रमा आयोजना पुरा गरिने लक्ष्य राखिएको बताए । वडाले आर्थिक वर्ष २०७५÷०७६ लाई पिउने पानी अभियान वर्षको रुपमा लिएको छ । ‘वडाले २१ लाख बजेट हालिसकिएको छ ।’ उनले भने–‘एक करोड ४९ लाख वडाको बजेट मध्ये एक करोड खानेपानीको लागि छुट्टाइएको छ ।’ एक करोड वडामा खानेपानी मुहान, पाईप मर्मत, पाईप विस्तार लगायतका कामको लागि छुट्टाइएको वडाध्यक्ष आचार्यले सुनाए । उनका अनुसार झण्डै दुईदशक अघि निर्माण गरिएको बृहत खानेपानी आयोजनाबाट जडित ६५ धाराबाट खानेपानीको आपूर्ति हुदैं आएको छ । तर त्यसबाट केवल ४.५ लिटर प्रतिसेकेण्ड पानी आएको छ ।

उनले केन्द्र र प्रदेश सरकारसँग खानेपानी आयोजनाको लागि बजेट माग गरिएको जानकारी दिए । ‘महानगरपालिकासँग दुईकरोड रुपैयाँ माग गरिएको छ ।’ वडाध्यक्ष आचार्यले भने ‘महानगरपालिकाको रातोकिताबै उल्लेख गरेर बजेट निकासाको लागि पहल भईरहेको छ ।’ उनले महानगरपालिका र सरकारबाट बजेट निकासा नभएको अवस्थामा अर्को वर्ष वडाकै बजेटबाट आयोजना पुरा गर्ने आफनो लक्ष्य रहेको बताए । ‘महानगर र सरकारले बजेट नदिए अर्को वर्ष वडाको पुरै बजेट खानेपानीमा लगानी गरेर आयोजना पुरा गर्छु ।’ वडाध्यक्ष आचार्यले भने–‘गाउँलेलाई पिउने पानी खुवाएरै छाडछु ।’