पोखरामा काँग्रेस र राप्रपाका उम्मेदवार एउटै

पोखरा, मंसिर १८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएपछि दुवै पार्टीका उम्मेदवारहरु एउटै मञ्चबाट काँग्रेसलाई भोट मागिरहेका छन् । सोमबार कास्की क्षेत्र नम्बर २ प्रदेशसभा ख का काँग्रेस उम्मेदवार विन्दुकुमार थापा र राप्रपाका उम्मेदवार बिष्णुबहादुर खत्रीले पोखरा ११ मा एउटै मञ्चबाट सम्बोधन गरे । कार्यक्रममा खत्रीले राप्रपाको केन्द्रिय र जिल्ला स्तरीय निर्णय अनुसार आँफुले थापालाई सघाउने गरी उम्मेदवारी फिर्ता गरेको बताए ।
‘हाम्रो नेतृत्व तहमै एक किसिमको सहमति भएको छ । सहमति अनुसार नै मैले उम्मेदवारी फिर्ता लिएँ, उनले भने–अव सबै मेरा मतदातासँग विन्दुजीका लागि भोट माग्छु । एक पटक खुलेर सहयोग गरिदिनुहोला ।’ खत्रीले कुनैपनि हालतमा लोकतान्त्रिक गठबन्धन कमजोर हुन नहुने धारणा राखे । ‘देशको बदलिँदो परिवेश हेरेरै हामीले काँग्रेससँग समन्वय गरेका हौं । काँग्रेसले हार्नु हाम्रो पनि हार हो । लोकतन्त्रको हार हो, खत्री भन्छन्–जसले जहाँ जितेपनि लोकतन्त्र प्रेमीले जित्नुपर्छ । राप्रपा र काँग्रेसको गठबन्धनले जित्नुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र राप्रपाका साझा उम्मेदवार विन्दुकुमार थापाले उम्मेदवारी फिर्ताको ब्यवहारिक सहमति भएपनि कानुनी रुपमा चुनाव चिह्न यथावत हुने भएकाले सचेतना पूर्वक मतदान गर्न आग्रह गरे । ‘पहिल्यै फिर्ता भएको भए चुनाव चिह्न मतपत्रमा हुन्थेन । अहिले अन्तिम अवस्था भएकाले राप्रपाको चुनाव चिह्न पनि हुन्छ, उनले भने–उम्मेदवारी नै फिर्ता भएपछि राप्रपाका साथीहरुले पनि काँग्रेसको रुख चिह्नमा भोट हाल्नुपर्छ । सहयोग गरिदिनुहोला ।’
यो चुनाव लोकतन्त्र प्रेमी र लोकतन्त्र नचाहने बीचको जनमत संग्रह भएकाले लोकतन्त्रको पक्षमा काँग्रेसलाई मतदान गर्न थापाको आग्रह छ ।