पोखरामा एकपछि अर्को सहकारी लुटपाट, अमरसिंहको भिजनबाट साढे ९ लाख चोरी

पोखरा, असोज १० ।
अमरसिंहचोकस्थित भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख ६० हजार रुपैयाँ चोरी भएको छ । चोरले त्यतिको पैसा र सिसीटिभीको उपकरण लगेको आइतबार मात्रै थाहा भएको थियो ।

२४ सै घन्टा प्रहरी गस्ती भइरहने उक्त ठाउँको सहकारीको सिसिटिभी क्यामेराको दृश्य कैद भएको मेसिन पनि चोरले लगेको छ । शुक्रबार, शनिबार राति वा आइतबार बिहान कति बेला चोरी भएको हो भन्ने यकीन हुन सकेको छैन ।

‘चोकमा पहरेदारी र गस्तीमा बस्ने प्रहरी प्रायजसो भिजन सहकारीकै वाइफाइ चलाएर बस्थे । अझ सहकारीको भूइँ तलाको चर्पी पनि प्रहरीले प्रयोग गर्थे’, एक स्थानीयले भने, ‘पानी पर्दा प्रहरी ओत लाग्ने ठाउँ पनि सहकारी थियो । त्यस्तोमा पनि पुलिसलाई छक्याएर चोर पसेछ ।’

सहकारीका म्यानेजर नरेशकुमार मगरका अनुसार चोरले तल्लो तलाको च्यानल गेटमा लगाएको ताला खोली पैसा राख्ने भल्ट फोडेर पैसा लगेको छ । काउन्टर, म्यानेजरको कोठा लगायतको ठाउँका सबै ताला फोरेको मगरले जानकारी दिए ।

आइतबार सहकारीका कार्यालय सहयोगी आउँदा ताला फोरिएको देखेपछि अन्य कर्मचारी र प्रहरीलाई खबर गरेकी थिइन् । सहकारीको भल्टमा अन्य दिनमा पनि ६÷७ लाख रुपैयाँ राख्ने गरिएको थियो । गस्तीमा रहेको प्रहरीको आगाडि नै चोरी हुनु दुखद भएको सहकारीका कर्मचारीको भनाइ छ ।

सहकारी चोरी हुनुमा चिनेको मान्छेकै हात हुनुपर्ने म्यानेजर मगर बताउँछन् । सिसिटिभीको रेकर्डिब सिस्टम चोरको समूहले लगेको छ । सिसिटिभीको सिस्टम नै चोरले लगेपछि प्रहरीलाई अनुसन्धान गर्न अप्ठेरो भएको छ ।

गत भदौ ३१ गते पोखरा सिर्जनाचोमा रहेको जनएकता बचत तथा ऋण सहकारीमा ९ लाख रुपैयाँ चोरी भएको थियो । उक्त घटनामा पनि गस्तीको सय मिटर नजिकै थियो । जनएकता सहकारीमा सुरक्षा गार्ड र सिसिटीभी थिएनन् ।–समाधान दैनिक