पोखरामा आज रातीदेखि १ साता लकडाउन हुने

पोखरा, भदौ १ ।
कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाले आज (सोमबार) रातीदेखि १ साता लकडाउन गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको हो ।

‘संघ संस्था, कार्यालय केही पनि चल्दैनन्,’ मेयर मानबहादुर जिसीले भने, ‘पूरै ठप्प गर्न भनेका छौं । आजै रातीदेखि यो निर्णय लागू हुन्छ ।’ पोखराका ३३ मध्ये ३१ वटा वडामा कोरोना देखिएको छ ।

निरन्तर संक्रमण बढ्न थालेपछि सर्वदलीय बैठकले लकडाउन गर्न सुझाएको थियो । ‘छलफलमै छौं । महानगरको सिफारिस आउला । विज्ञहरुको पनि सुझाव लिएर आवश्यक्ता अनुसार बन्द गर्ने योजना छ,’ कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले भने, ‘फोनमा कुराकानी हुँदा स्वास्थ्य विज्ञहरुले पनि लकडाउन गर्दा राम्रो भनेर सुझाव दिनुभएको छ । सम्भवतः लकडाउन हुन्छ ।’

लकडाउन भएपनि अत्यावश्यक सामानको अभाव नहुने उनले बताए । ‘सबैकुराहरु स्टक छन् । केही अभाव हुँदैन,’ उनले थपे, ‘मुभमेण्ट र कार्यालय मात्रै बन्द गर्ने हो । खाद्यान्न लगायत अत्यावश्यक बस्तुको आयात रोकिँदैन ।’