पोखरामा अबैध कृषि बजार, महानगर मौन

प्रकाश ढकाल
पोखरा, फागुन २४ ।
पृथ्वीचोक नजिकै खुलेको सस्तो बजारले महानगरबाट स्विकृति लिएको छैन । नेपाल बायु सेवा निगमको नाममा रहेको जग्गामा सुर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालिले कच्ची भवन बनाउने सिफारिस लिएर तीनतले पक्की भवन ठड्यायो । गएको असोज ९ गते महानगरको नक्सा शाखाबाट टीनको छाप्रो बनाउने सिफारिस लिएर काम थालेको कम्पनीलाई महानगरले सामान्य सोधपुछ समेत गरेन । कम्पनीले डेढसय कोठा बनाउने स्विकृति लिएर अहिले ४ सय भन्दा बढी सटर तयार गरेको छ । धादिङका युवराज खतिवडा सहितको समूहले बजार चलाएका हुन् । सस्तो बजारका ठेकेदारले साना ब्यवसायीसँग मोटो रकम लिएर सटर भाडामा लगाएका छन् । २ देखि २० लाख रुपैयाँसम्म धरौटी लिएर महङ्गोमा भाडा लगाएका ब्यवसायीहरुकै गुनासो छ । सस्तो बजारभित्र पसल गर्नेले प्रति सटर मासिक भाडा १२ देखि ४५ हजार रुपैयाँसम्म तिर्नुपर्छ । धरौटी रकम बर्षेनी कटौती गरिने र ५ बर्षपछि ४० प्रतिशत रकम मात्रै फिर्ता हुने सञ्चालक युवराज खतिवडाले बताए । अरु बजारमा पनि ब्यवसायीले निकै महङ्गो भाडा तिरेर ब्यापार गर्दै आएका छन् ।  
खतिवडाले सिर्जनाचोक र सिद्धार्थचोकमा पनि यस्तै बजार चलाएका छन् । तर कुनैपनि बजार कानुनी दायराभित्र छैन । नयाँबजारको गण्डकी मिनी मार्केट, १ बर्षअघि खुलेको पृथ्वीचोकको बास्तोला कम्प्लेक्स लगायत पोखराका कुनैपनि बजारले मापदण्ड मानेका छैनन् । पोखरामा चलेका सबैजसो यस्ता बजारहरु अबैध छ । बिचौलियाले सरकारी जग्गा भाडामा लिएर सटरको ब्यापार गरिरहेका छन् । तर त्यसमा महानगर आँफै चनाखो बनेर कारबाही गर्न सकेको छैन । कृषिका नाममा खुलेका पोखरा क्षेत्रभित्र साना ठूला सय भन्दा बढी बजारहरु छन् । अधिकांश बजार न दर्तावाल छ नत कर नै बुझाउँछन् । महानगरका कर अधिकृत शिवहरी शर्माका अनुसार सस्तो र कृषिका नाममा खुलेका कुनैपनि बजारले कर बुझाएका छैनन् । ‘बजार चलाउन सीमित ब्यक्ति मिलेर कम्पनी बनाउँछन् । उनीहरुको कम्पनी नै दर्ता हुँदैन, शर्मा भन्छन्–यसबाट सरकारले ठूलो राजश्व गुमाउँछ । धेरैजसो बजार अवैध रुपमा चलिरहेका छन् ।’ सस्तोका नाममा खुलेका बजारहरु पोखराभित्र कतिवटा छन्, कसैले पनि तथ्याकं बताउन सक्दैन । बजारभित्र हजारौं खुद्रा पसलहरु खोलिएका छन् । साना लगानीको पसल चलाउँदा महानगरमा बार्षिक कम्तिमा १ हजार रुपैयाँ कर बुझाउनुपर्छ । यि बजारभित्रबाट ९० प्रतिशत ब्यवसायीले कर बुझाएका छैनन् । ‘बैंकबाट लोन लिन महानगरमा कर क्लियर गरेको स्लिप बुझाउनुपर्छ । त्यसकै लागि मात्र केही ब्यवसायीले कर बुझाएका छन्, शर्मा भन्छन्–आँफैले पूर्ण लगानी गरेर पसल चलाउन सक्ने ब्यवसायले कर बुझाएकै छैनन् । महानगरले उनीहरुलाई करको दायराभित्र ल्याउन पनि सकेको छैन ।’ महानगरभित्र बन्ने सबै घर टहरालाई नक्सापास अनिवार्य गरिएको छ । तर यि बजार बनाउँदा अधिकांशले नक्सापास नै गरेका छैनन् । केहीले चाहीँ थोरैको नक्सापास गरेर ठूला संरचनाहरु ठड्याईरहेका छन् ।
पृथ्वीचोक, सिर्जनाचोक, सिद्धार्थचोक, नयाँबजार, न्यूरोड, अमरसिंहचोक लगायत मुख्य सडक छेउछाउमा अनाधिकृत रुपमा खुलेका यस्ता बजार महानगरको दायरा बाहिर छन् । हाल सिद्धार्थचोक र पोखरा ४ र ५ को सिमानामा (स्काउट भवन नजिक) नयाँ बजार बसाउन भौतिक संरचना बनाउने काम भैरहेको छ । वडा ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले संरचना बनाउने काम रोकिदिन महानगरलाई आग्रह गरेको बताए । पटकपटक काम रोक्ने प्रयास गर्दा पनि असफल भएपछि महानगरलाई पत्र पठाएको उनले बताए । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले पनि ठेकेदारहरुले अटेर गरेको बताएका छन् । ‘काम नगर्न फिल्डमै गएर निर्देशन दिएका हौं तर अटेर गरेर काम गरिरहेका छन्, उनले भने–अव महानगर नै बोल्नुपर्छ । वडाबाट महानगरमा सिफारिस लेखि पठाएका छौं ।’
महानगरका मेयर मानबहादुर जिसी चाहीँ सबै बजारलाई कानुनी दायराभित्र ल्याईछाड्ने बताउँछन् । ‘धेरै पहिलेदेखि गलत गर्न पल्केका ठेकेदारहरु छन् । गल्ती पहिलेदेखि भएको हो । अहिले बाहिर मात्रै आएको छ, उनले भने–नियम विपरित काम गर्ने छुट कसैलाई छैन । सबै महानगरको दायराभित्र आउँछन् ।’ उनले २०७० सालमा फुटपाथ क्लियर गर्ने बेलादेखि नै बजारमा बिचौलिया छिरेको बताए । पृथ्वीचोकमा बन्दै गरेको सस्तो बजारमा चाहीँ ईञ्जिनियरलाई निरीक्षण गरेर प्रतिबेदन बुझाउन निर्देशन गरेको जिसीले बताए । ‘भवनको प्राविधिक पक्षबारे पूर्ण रिपोर्ट बुझाउन ईञ्जिनियरलाई भनिसकेको छु । शुक्रबारसम्म रिपोट आईसक्छ, उनले भने–त्यसपछि के कारबाही गर्ने भन्ने सोचौंला । सञ्चालकलाई पनि बोलाएर नियमसंगत काम गर्न निर्देशन गरिसकेको छु ।’ महानगरले यस्ता बजारलाई नियमन गर्न नसक्दा बार्षिक करोड भन्दा बढी राजश्व गुमाईरहेको छ । पोखरामा चलाईएका अधिकांश कृषि बजारले सरकारलाई कर तिर्दैनन् । साना ब्यवसायीसँग मनपरी भाडा असुलेर चलाईएका यस्ता बजार नियमन नहुँदा विचौलियालाई समेत प्रश्रय मिल्ने सरोकारवाला बताउँछन् ।