पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईने, यस्तो छ तयारी

पोखरा, पुस २० ।
पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ । विहिबार सम्मेलन केन्द्र विकास समितिले महानगरको टोलिसँग प्रारम्भीक छलफल गरेको छ । समितिले पोखराको प्रदर्शनी केन्द्रलाई बढी प्राथमिकतामा राखेर छलफल अघि सारेको छ भने महानगरले लेखनाथको माछापोखरीमा बनाउन प्रश्ताव गरेको छ ।

केही समयअघि अध्ययन टोलिले माछापोखरी, सिलिङ्गे र प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भनि प्रश्ताव गरेको थियो । सोही प्रश्तावका आधारमा प्रदर्शनी केन्द्र भएको जग्गालाई उपयुक्त भनि महानगरसँग स्विकृति मागेको छ । ‘माछापोखरीमा मत्स्य केन्द्र छ । त्यसलाई त्यही स्वरुपमा अघि बढाउनुपर्छ । सिलिङ्गेमा वातावरणीय समस्या आउन सक्छ, सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्य भन्छन्–प्रदर्शनी केन्द्र सबै हिसावले उपयुक्त छ । हामीलाई यही जग्गा चाहिन्छ ।’

उनका अनुसार सम्मेलन केन्द्र निर्माणका लागि कम्तिमा ६० रोपनी जग्गा चाहिन्छ । तर प्रदर्शनी केन्द्रमा पनि आवश्यक्ता अनुसारको जग्गा पुग्दैन । प्रदर्शनी केन्द्रमा ४५ रोपनी मात्रै जग्गा सरकारी स्वामित्वमा छ । ‘अण्डर ग्राउण्ड पार्किङ र आधुनिक भवन निर्माण गरेपछि यही जग्गा पनि पर्याप्त हुन्छ, उनले भने–अहिले यही जग्गामा सम्मेलन केन्द्र बनाउँछौं र विस्तारै अन्य क्षेत्र खोजौंला ।’ उनले सिलिङ्गे र अन्य डाँडाहरुमा रिसोर्ट तथा होमस्टे सञ्चालन गरेर सम्मेलन केन्द्रमा आउने पाहुनालाई डाईभर्ट गर्न सकिने बताए ।

तर महानगरका मेयर मानबहादुर जिसीले चाहीँ शहरी चाप बढी हुने ठाउँमा भन्दा अलि शान्त ठाउँ सम्मेलन केन्द्रका लागि उपयुक्त हुने बताए । ‘माछापोखरी शहरी कोलाहल बाहिर छ । शहरबाट खासै टाढा पनि छैन र सुरक्षाको दृष्टीले पनि राम्रो छ, उनी भन्छन्–पर्याप्त जग्गा छ । पछि कुनै संरचना थप्नुपरेपनि जग्गाको अभाव हुँदैन । सबैभन्दा उपयुक्त ठाउँ यही हो ।’

उनका अनुसार माछापोखरीमा २ सय रोपनी भन्दा बढी जमिन सरकारी स्वामित्वमा छ । ‘महानगरले विकासलाई विकेन्द्रिकरण गर्ने नीति लिएको छ । भएभरका संरचना यहीँ राख्नु उपयुक्त नहोला, जिसीले थपे–प्रदेश सरकार छ । उसका कार्यालय थपिएलान् । महानगरका अरु संरचना पनि बनाउनुपर्छ । त्यसैले केही खालि ठाउँ पनि सुरक्षित राख्नुपर्छ ।’

मेयर जिसीले प्राथमिकताका आधारमा जग्गा सिफारिस गरेर पठाउने बताए । तर यसअघि पोखरा २६ सिलिङ्गेमा सम्मेलन केन्द्र निर्माण गर्ने प्रारम्भीक तयारी थियो । एउटा टोलिले सम्मेलन केन्द्र निर्माणको सम्भाब्यता अध्ययन गरेको थियो । करिब ५ सय रोपनी भन्दा बढी जग्गा स्थानीयले निशुल्क सरकारलाई दिन राजी भएका छन् । उपत्यका नगर विकास समितिले पनि सिलिङ्गेमा सम्मेलन केन्द्र बनाउन उपयुक्त भनि सिफारिस गरेको थियो ।

सम्मेलन केन्द्र निर्माणका लागि प्रदेश सरकारले पनि विशेष चासो दिएको छ । प्रदेश सरकारको पहिलो बैठकबाटै अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरिसकेको छ । आगामी ५ बर्षभित्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने लक्ष्य सरकारको छ ।

File Photo