पोखरामा अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता, २२ देश सहभागी हुने

पोखरा, माघ १९ ।
प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आउँदै छन् । प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् । ५ दिनसम्म चल्ने प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ ओटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ र पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ । उत्कृष्ट पाइलटको एफएआईर्को याङ्किङमा नम्बरसमेत बढ्ने छ । नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ । यो प्रतियोगिता राम्रोसँग सम्पन्न भएमा अर्को वर्ष वर्ल्ड कप आयोजना गर्न बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म साँस्कृतिक झाँकीसहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गर्नेछन् । यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।