पोखराबाट ७० करोडको नयाँ नोट साटियो

पोखरा, असोज १७ ।
नयाँ नोट र दशैं अहिले पर्याबाची जस्तै भैसकेका छन् । दशैंमा नयाँ नोट साट्ने संस्कृति अव नौलो रहेन । नयाँ नोट भेटी वा दक्षिणा दिने चलन नेपालभरी नै छ । यो बर्षपनि देशभरका बैंक तथा वित्तिय संस्थाहरुबाट नयाँ नोट साटिएको छ । पोखराबाट मात्रै यो बर्ष ७० करोड रुपैयाँको नयाँ नोट सटही भएको छ ।

नेपाल राष्ट्र बैंक पोखराले सर्वसाधारणका लागि ६९ करोड ५२ लाख रुपैयाँको नयाँ नोट उपलब्ध गराएको हो । राष्ट्र बैंकबाट पोखरास्थित बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, अशक्त र बृद्धबृद्धाहरुका लागि छट्टाछुट्टै काउन्टरबाट साना दरका नोट सटहीको व्यवस्था मिलाइएको निर्देशक डिल्लीराम पोखरेलले जानकारी दिए । असोज ७ देखि १० गतेसम्म पोखराका बैंक र वित्तीय संस्थाका लागि साना दरका नोटहरु सटही गर्ने व्यवस्था थियो । जसमा ४४ करोड ५१ लाख ७० हजार बराबरको साना दरका नयाँ नोटहरु उपलब्ध गराएको उनले बताए ।

गण्डकीभित्र राष्ट्र बैंकले संचालन गरेको नोट कोषका लागि ८ जिल्ला पर्दछन् । कास्की, पर्वत र नवलपुर जिल्लाबाहेक गण्डकी प्रदेशका बाँकी सबै जिल्लामा राष्ट्र बैंकले नोट कोष संचालन गरेको छ । नोट कोष संचालन भएका जिल्लाको वाणिज्य बैंकहरुका लागि समेत राष्ट्र बैंकले ३८ करोड ५० लाख बराबरको साना दरका नोट वितरण उपलब्ध गराएको छ । राष्ट्र बंैकले वाणिज्य बैंकका प्रत्येक शाखालाई ७ लाख २० हजारको दरले साना दरका नयाँ नोटहरु उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा वाणिज्य बैंकका ३ सय ९१ वटा शाखा छन् ।

गण्डकीका विकास बैंकका २ सय ५५ वटा शाखामा ५ लाख ९० हजार दरले तथा २६ वटा ‘ग’ वर्गका विभिन्न वित्तीय संस्थाको लागि प्रतिशाखा ५ लाख ६० हजार दरले नोट उपलब्ध गराएको जनाएको छ । सर्वसाधारणका लागि भने २१ करोड १५ लाख ७२ हजार बराबरको साना दरका नोट वितरण गरिएको हो ।

राष्ट्र बैंकमा हाल बिहानै १० देखि ४ बजेसम्म प्रतिब्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नोट सटही सुविधा छ । यसरी नोट सटही गर्नकै लागि राष्ट्र बैंक काउण्टर पुग्ने सर्वसाधारणको संख्या हालसम्म ५ हजार बढी पुगिसकेको छ । पछिल्लो चार दिनयता दैनिक १ हजार हाराहारीमा सर्वसाधारण आएका छन् । दैनिक ५ करोड ५० लाख बढी नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

दिनभर चर्को घामको बाबजुद पनि सर्वसाधारण नयाँ नोट सहटीका लागि पालो कुर्ने गरेका छन् । पोखराबाट मात्रै करिब १ अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको जनाइएको छ । राष्ट्र बैंकमा अब अन्तिम दिन शुक्रबारसम्म नोट सटही सुविधा छ ।बैंकले नोट हिफाजत गर्न सर्वसाधारणमा आग्रह गरेको छ । सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्न नहुनेमा सचेतना गराएको हो । यसो भएको पाइए ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।