पोखराबाट २ दिनमै ४० जुवाडे पक्राउ

पोखरा, साउन २८ ।
पछिल्ला दिनहरुमा पोखराबाट पेसेवार रुपमै जुवातास खेल्नेहरु धमाधम पक्राउ परिरहेका छन् । शनिबार मालेपाटन र पृथ्वीचोकबाट नगद २ लाख सहित १५ जना पक्राउ परेका थिए । मालेपाटनमा विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट तास खेलिरहेका ६ महिला सहित ८ जनालाई पक्राउ गरियो ।

उनीहरुको साथबाट नगद १ लाख २१ हजार बरामद भएको छ । सोहीदिन पृथ्वीचोक स्थित निरज होटलबाट ७ जना पक्राउ परे । होटल सञ्चालक बालकृष्ण शर्मा सहित पक्राउ परेकाहरुको साथबाट ६२ हजार रुपैयाँ बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

आइतबार पनि विभिन्न ३ ठाउँबाट जुवाडे पक्राउ परेका छन् । पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा ताल खेलिरहेका ११ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथमा रहेको ३२ हजार रुपैयाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, पोखरा १६ दीपमा रहेको दुर्गा घलेको घरबाट २५ हजार नगद सहित ८ जना पक्राउ परे ।

पोखरा १० रामघाटबाट पनि ६ जना प्रहरीको नियन्त्रणमा छन् । स्थानीय बिष्णु गुरुङको घरमा उर्मिला लामिछानेले सञ्चालन गरेको पर्वत होटल भित्र अवैध रुपमा जुवातास खेलाएको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनीहरुको साथबाट पनि ३६ हजार रुपैयाँ बरामद भएको छ । सबैलाई जुवातास मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाईएको कार्कीले जानकारी दिए ।