पोखराबाट लागू औषध बेच्ने दुईजना पक्राउ, ठूलो मात्रामा लागू औषध र नगद बरामद

पोखरा, मंसिर ६ ।
पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्विप अपरेशनमा रहेको कास्की प्रहरीले बुधबार दुईवटा कारबाट ठूलो परिमाणको लागू औषध बरामद गरेको हो ।

सडक छेउमा पार्कीङ गरी राखेको अबस्थामा ग २ च ८३६३ र र ग २ च ४३२७ नम्बर को दुईवटा कारबाट लागू औषध भेटिएको हो । कार चालक रुपन्देही घर भई पोखरा ९ बस्ने उदय कुमार गुप्ता र तनहूँको ब्यास घर भई पोखरा ११ रानीपौवा बस्दै आएकी ३३ बर्षकी गीता भन्ने मनु गुरुङलाई पक्राउ गरिएको हो ।

कारबाट २ सय ९५ थान नुर्फिन, २ सय ९५ थान डाइजापाम र २ सय ९५ थान फेनरागन बरामद गरिएको छ । यस्तै २४ बोतल फेनसिडल पनि बरामद भएको छ । कारको अगाडी सेफमा रहेको २ लाख ४२ हजार रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको छ । यस्तै, उदय कुमार गुप्ताको साथबाट सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्री पनि नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

उनै गुप्ताको अर्को गाडी ग १ च ४३२७ नम्बरको कारबाट पनि डिक्कीमा ९६ थान नुर्फिन, १ सय ९ थान डाइजापाम र ८६ थान फेनरागन बरामद गरिएको छ । गुप्ता २०७० सालमा पनि लागू औषध मुद्धामा पक्राउ परि जेल सजाएँ भोगेर निस्केका कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।