पोखराबाट प्रचण्डले भने–’नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्छौं’

पोखरा, जेठ २१ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय अवधारणा लागू गर्ने तयारी भैरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपतिय प्रणालीमा गएको भन्दै उनले नयाँ पद्धति नेपालमा सुरु हुने बताए । अहिले नै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौं । तर यो अति आवश्यक छ, उनले भने–सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन् । निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने कुराको बारेमा चुनाव अगाडी खोल्छौं । हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो ।’ नेतृत्व तहमा सर्वसम्मति भैसकेको भन्दै उनले जनताका बीचमा पनि छलफल र बहस हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तराष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उमंग संचार भएको बताए । ‘अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुदाँ फरक तरगं पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छन्, उनले भने–हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश नेपालबाट गएको छ । यसले ठूलो जिम्मेवारी र चुनौति पनि पैदा गरेको छ ।’ उनले राजनीतिक कारणले विकास नरोकिने विस्वास दिए । ‘राजनीतिक कारणले समृद्धी र विकास भएन भन्ने ठाउँ छैन । त्यसैले हामीलाई ठूलो चुनौतिको भारी छ, प्रचण्ड भन्छन्–एकीकरणलाई राम्रोसँग आत्मसात गर्दा नयाँ युगमा प्रवेश गर्ने ढोका खुलेको छ । त्यसो गर्न नसके निकै ठूलो फ्रस्ट्रेसन आउने खतरा छ ।’ उनले अस्थिरताको अन्त्य भएर स्थायी सरकार नेपालमा पनि चल्न सक्छ भन्ने सन्देश अहिले सबैतिर गएको धारणा राखे ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान संशोधन लगायत केही सहमति गरेर फोरमलाई पनि सरकारमा सामेल गराउने तयारी भैरहेको बताए । ‘संविधान संशोधन गर्ने सैद्धान्तिक सहमति भएको छ । फोरम पनि सरकारमा आउने लगभग टुंगिएको छ, उनले थपे–अव नेकपा र सरकारका बिरुद्ध उठ्ने विरोधका आवाज बन्द भएका छन् । सरकारलाई सजिलो भयो ।’ सरकारले ल्याएको बजेट दीर्घकालीन सोचमा आधारित भएको उनको भनाई छ । पत्रकार महासंघ प्रदेश ४ का अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।