पोखराबाट प्रकाशमानले भने–काँग्रेसको नेतृत्व मैले लिन्छु

पोखरा, माघ २१ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवको नेतृत्व आँफुले लिने बताएका छन् । अहिलेको नेतृत्व असफल भएको आरोप लगाउँदै उनले घुमाउरो हिसावमा आँफैले काँग्रेस हाँक्ने बताएका हुन् । “अहिले पार्टी लथालिड्ड अवस्थामा चलिरहेको छ । देशको उपचार गर्ने काँग्रेस पार्टी विरामी अवस्थामा छ, डिएनए नेपाल डटकमसँग कुराकानी गर्दै उनले भने–यो अवस्थामा पार्टी चल्न सक्दैन । अब राम्रो डाक्टरको जिम्मा लाउने बेला भयो । अहिलेको नेतृत्वले उपचार गर्न सक्दैन ।” विधान अनुसार पार्टी चलाउन आग्रह गर्दा उल्टै विखण्डन ल्याउन खोजेको आरोप आँफुमाथी लगाउने गरेको उनको गुनासो छ ।
“महाधिबेशनको २ महिनाभित्रै गठन हुनुपर्ने ४२ वटा विभाग २ बर्ष वितिसक्दा पनि गठन भएको छैन । यही विधानका आधारमा निर्वाचित भएका सभापति र कार्यसमितिले विधान अनुसार काम नगर्दा पार्टी चल्न सक्छ ?, नेतृत्वप्रति असन्तुष्टी राख्दै उनी भन्छन्–कार्यकर्ताले पनि काम गर्ने मान्छेको लेखाजोखा गर्नुपर्छ । गुटको राजनीति गरेर पार्टी सिध्याउने काम बन्द गरौं ।” सिंहले देशको संघीय संरचना अनुसार पार्टीको विधान परिवर्तन गरी सोही अनुसारको संगठन विस्तार थाल्नुपर्ने सुझाव दिए ।
“देश संघीय संरचनामा गैसक्यो, काँग्रेस अझैपनि केन्द्रिकृत छ । तत्काल विधान संशोधन गरेर नयाँ संरचना तयार गर्नुपर्छ, सिंहले भने–एमाले माओबादीले काँग्रेस सुधार्ने होईन । सुधार्ने हामीले हो । त्यसका लागि हामीमा प्रतिबद्धताको खाँचो छ ।” काँग्रेस कास्कीका कार्यकर्तासँग भेटघाटपछि उनले कार्यकर्ताले पनि पार्टीको नेतृत्व सही मान्छेलाई दिनुपर्ने धारणा राखे ।