पोखराबाट दिल्ली जाँदै गरेको बस दुर्घटना–पालुङटारका ठकुरीको मृत्यु, ८ घाईते

पोखरा, पुस ७ ।
पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल–भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन् ।

दुर्घटना भारतको उत्तर प्रदेशको आगरा जिल्लाको यमुना एक्प्रेस वेमा भएको हो । स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । मृतक ठकुरीको ठेगाना गोरखाको पालुङटार हो ।

प्रहरीका अनुसार ट्रक आफ्नो बाटो छोड़ेर गलत बाटोमा दाैडिरहेको थियो । यो घटना शनिवार बिहान विहान साढे ६ बजे भएको हो । बिहान बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ । ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन् ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ती गरिएको छ । घाइते हुनेहरूको टाउको, आँखा र शरीरका अन्य अङ्गहरूमा चोट लागेको बसका एक जना यात्रु विष्णु जङ्गबहादुरले जानकारी दिए । उनी पनि घाइते छन् ।

‘जतिबेला दुर्घटना भयो, त्यतिबेला हामी सुतिरहेका थियौं’, उनले भने, ‘ठूलो आवाजसहित हामी चढ़ेको बसलाई ट्रकले ठक्कर दिँदा मात्र निद्रा भङ्ग भयो ।’ विष्णुकाअनुसार बसभित्रका प्रायः सबै यात्रु घाइते बनेका छन् । पोखरा निवासी नेपाल–भारत मैत्री बस सेवामा चढ़ेर दिल्ली गइरहेका थिए । उनको निधार र आँखा नजिक चोट लागेको छ ।