पोखराबाट खगेन्द्र भन्छन्–मान्छेलाई सत्तामा चढाएपछि सुँगुरजस्तो बन्छ अनि लेख्न मन लाग्छ

पोखरा, पुस ७ ।
४ देखि ५ बजेसम्मको म्याद थियो । १ घण्टे म्यादी बक्तामा थिए, नेपालकै चर्चित स्तम्भकार खगेन्द्र संग्रौला र चर्चित सम्पादक नारायण वाग्ले । कार्यक्रमको सहआयोजक संस्था ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले मञ्चबाट नाम लिनुभन्दा अघिदेखि नै मञ्चतर्फ सोझिएर उभिएका उनीहरु, आफ्नो नाम सुन्ने वित्तिकै भुईँभन्दा अलिक अग्लो स्टेज चढे ।

मञ्चमा उक्लिनुभन्दा अघि नै दुईपटक खगेन्द्रको झोला भुईंमा पछारियो । सँधै बोकी हिड्ने पर्सनल बाहेक आयोजकले पनि अर्को एउटा झोला थमाईदिएको थियो, उनलाई । त्यसैले झोला स्याहार्न अलि सकस नै थियो ।

वाग्लेले अलिकति चुक्ली लाइदिएपछि निख्खर सेतो कपाल, ढ्याके चस्मा र रातो झोलाको बयान आँफै थाले खगेन्द्रले । त्यसो त, उनको रातो झोलालाई अचेल देखिँदैन र साथमा उनी कालो झोला बोकी हिड्छन् । तर रातो झोलाको किस्सा चाहीँ कहिल्यै छोड्दैनन् उनी ।

दुईबीचको कुराकानी चल्दै गर्दा वाग्लेले प्रश्न गरे–‘खगेन्द्र दाइ मान्छे निकै शालिन, शान्त स्वभावको हुनुहुन्छ । तर लेख्ने बेलामा अर्कै खगेन्द्र कसरी बन्नुहुन्छ ?’

खगेन्द्रले जवाफमा भने–
‘हरेक मान्छेका जीवनमा विरोधाभास हुन्छन् । प्रकृतिबाट संस्कृतिमा प्रवेश गरेपछि जीवनमा ढोङ सुरु भयो । मान्छेका दुई रुप भए । म जन्मेको त नाङै हो, यो लुगा कृत्रिम हो । यसमा संहितका केही नियमहरु छन् । हरेक ब्यक्तिका विभिन्न रुपहरु हुन्छन् र ति मेरा दुई रुप हुन् । बाँकी साहित्य लेखिरहेको बेलामा लालित्यपूर्ण भाषा प्रयोग गर्छु, विम्ब प्रयोग गर्छु, रुपक प्रयोग गर्छु, प्रतिक प्रयोग गर्छु । अनि मलाई शासन गर्ने मठाधिसहरु तिमीले साहित्य लेख्नु राम्रो, अखवारमा नलेख्नु भन्छन् ।

किनकी अखवारमा मेरो बज्र कहाँ पर्छ भन्ने तिनलाई थाहा छ । तर साहित्यको लेखन र अखवारी लेखनमा खासै फरक छैन । मानिसहरु मलाई शुरबीर ठान्छन् । तर म सामान्य मान्छे हुँ । मेरा केही अभिष्ट र प्रतिबद्धताहरु छन् । समाजमा अन्याय देखेपछि वा आफुले काँधमा बोकेर सत्तामा मान्छे–मान्छे जस्तो चढाईयो, चढेपछि सुँगुरजस्तो देखियो । त्यो भएपछि मेरो मनमा यस्तो आक्रोश र आवेग उत्पन्न हुन्छ । त्यसलाई नारायणले भनेजस्तै भाषामा ब्यक्त गर्छु ।’

विशेषगरी अखवारमा सम्पादकको भूमीका र स्तम्भले पार्ने प्रभावबारे दुईबीच सम्बाद केन्द्रित थियो । एकले अर्कालाई छेडिरहेकै थिए ।

Photo-Yunish Gurung/Photo Journalist