पोखरादेखि लामो दुरीको भाडा कति (सबै ठाउँको भाडादर)

पोखरा, असोज ९ ।
चाडबाड र बिशेष पर्वमा गाडीमा यात्रा गर्दा भाडा बढी असुल्ने र यात्रुलाई मर्का पर्ने समस्या सँधैजसो हुन्छ । त्यसो त यात्रुको पनि समस्या छ । धेरै यात्रुहरु बार्गेनिङ गर्ने मनसायले टिकट नै नकाटी बसमा यात्रा गर्छन् । तर सानो लोभले यात्रु आँफै ठगिन्छन् ।
पोखराबाट बाहिरिने अधिकांश यात्रुले गाडीको टिकटै नकाटी पनि यात्रा गर्ने यातायात व्यवसायीहरु बताउँछन् । छोटो दुरीका यात्रुले टिकट नकाटीकनै चोकचोकमा बसेर गाडी ढुक्ने गर्छन् । उनीहरुले टिकट काट्न भन्दा पनि बार्गेनिङ गरेर यात्रा गर्ने गरेको पाइएको छ । टाढाको यात्रा गर्ने अधिकांशले भने टिकट काट्ने गरेका छन् । यहाँबाट काँकडभिट्टा, धरान, कटारी, विराटनगर, जनकपुर, वीरगन्ज, फत्तेपुर, सिन्धुली, महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगन्ज, दाङ लगायत शहर पुग्ने यात्रुले टिकट काट्ने गरेका छन् ।
अरुबेला बार्गे्निङ गर्दा सस्तोमा चढ्न पाइने भएपनि चाडबाडका बेला चाप धेरै हुनेहुँदा यात्रु उल्टो ठगिने सम्भावना हुन्छ । त्यसैले टिकट काटेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले सुझाव दिएका छन् ।
यस्तोबेला सामान एउटाको अर्कोमा पर्ने, आफू चढेको यातायातको साधन कुन हो भन्ने यात्रुले पत्तो नपाउने जस्ता समस्या धेरै प्रहरीकहाँ आइपुग्ने उनी सुनाउँछन् । ‘सामान मिस प्लेस भयो भन्ने गुनासो आउँछ, कुन गाडीमा हो भन्यो भने यस्तो कलरको गाडी भन्छन्,’ उनले भने पहिचान गर्नै निकै कठिन हुन्छ ।’
टिकट काटेर यात्रा गरे पहिचान गर्नपनि सहज हुनेर तोकिएभन्दा धेरै भाडा तिर्नपनि नपर्ने उनले सुनाए । खासगरी नारायणगढ, बागलुङ, बेसीशहर, स्याङ्जा र बुटवल लगायत ठाउँ जाने यात्रुले टिकट नकाट्ने गरेको महासचिव केसीले बताए । समितिले टिकट काट्न आग्रह गरिरहेको उनको भनाइ छ । टिकट काटेर यात्रा गर्दा बिमा लगायत सुविधा यात्रुले पाउँछन् । नकाट्दा केही भइहाले विवाद हुन सक्छ ।
दशैंका बेला यात्रुले वर्षभरि कमाएको रकम साथैमा लिएर यात्रा गर्नेे, गरगहना लगाएरै यात्रा गर्ने र खानपानमा ख्याल नगर्दा ठगिनेसमेत अवस्था अउन सक्छ । यस्तो बेला यात्रुलाई समेत समयमै सचेत गराउने, बीचबीचमा अनावश्यक सवारी नरोक्न र सुरक्षित अनि सार्वजनिक शौचालय भएको ठाउँमा मात्र रोक्न चालक सहचालकलाई सुझाएको केसीले जानकारी दिए । ‘चाडबाडका बेला आउन सक्ने जोखिमप्रति हामी सचेत छौं,’ उनले भने,‘चालक सहचालक र यात्रुलाई समेत हामी सचेत ढंगले यात्रा गर्न गराउन भेनका छौं ।’ उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति आफैले पनि बीचबीचमा छड्के जाँच गर्नेछ र यात्रालाई सहज बनाउने छ ।
विशेषगरी टीकाको अघिल्लो दिन, टिकाको दिन र भोलिपल्टका लागि बसहरुका लागि क्यु फ्री गरिएको छ । यो अवधिमा यात्रुको आवश्यकता र चाप हेरेर जुनसुकै क्षेत्रमा पनि सेवा दिन गाडी धनी र चालकलाई रोक लगाइने छैन ।टीकाको अघिल्लो दिन र टिकाको अवधिमा यात्रु ठगिएको गुनासो आउने गरेकाले तोकिएभन्दा धेरै पैसा तिर्नुपरे प्रहरी वा स्वयं समितिमा फोन गरे रकम फिर्ता गराइने केसीले जानकारी दिए । ‘टीकाको दिनमा पनि सेवा दिँदा केही थप लिऔं भन्ने लाग्न सक्छ, तर त्यसो गर्न पाइन्न,’ उनले भने,‘त्यसो गरेको पाइए हामीलाई जानकारी गराउनुहोस्, कारबाही हुन्छ ।’