पोखराको हालत–एउटा उपचारका लागि ४ अस्पताल डुल्नुपर्छ विरामीलाई !

पोखरा, साउन ११ ।
चुस्त ब्यवस्थापन नहुँदा पोखराका अस्पतालहरुमा गम्भीर गल्ती भैरहेको घटना सामान्य भैसक्यो । डाक्टरको लापरबाहीले विरामीको ज्यान गएको आरोपमा पटक पटक आन्दोलन पनि चलिहरन्छ पोखरामा ।

तर शुक्रबार अर्को अनौठो घटना घट्यो । अस्पतालमा सामान्य प्राविधिक मेसिनहरु नहुँदा एउटा विरामी ४ वटा अस्पताल फेर्न बाध्य भए । शुक्रबार काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेपछि घाईते भएका स्याङजाका एन्फा पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई पोखरा ल्याईयो । सुरुमा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा पु¥याईयो, कम्प्युटरले काम नगरेको प्रतिक्रिया दिएपछि उनलाई मनिपाल पु¥याईयो ।

मनिपालमा पनि सिटी स्क्यान गर्ने मेसिनले काम नगरेको भनेपछि फिस्टेल अस्पताल लगियो । सिटी स्क्यान भएपनि एमआरआई गर्ने मेसिन नभएपछि एमआरआईका लागि न्यूरोड स्थित पोखरा एमआरआई एण्ड डाईगोनोस्टिक सेन्टर लगिएको छ । ज्वारचनलाई फिस्टेलमा भर्ना गरिएको छ । एमआरआई गरेपछि पुनः फिस्टेल लगिने परिवारले जनाएको छ ।

‘यति ठूलो शहरमा यति धेरै अस्पतालहरु छन् । तर पूर्ण प्रविधि कुनैमा पनि देखिएन, उनीसँगै रहेका एक सदस्यले भने–एउटा उपचारका लागि ५ ठाउँ डुलाईसक्यौं । विरामीको हालत के होला ?’ सामान्य मान्छेले यति धेरै डुलाएर उपचार गराउन नसक्ने भन्दै सरोकारवालाको ध्यान पुग्नुपर्ने उनी बताउँछन् ।