पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा

पोखरा, मंसिर २१ ।
पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा र वरपरका दृश्य देखाउने उद्देश्यले २ वर्ष अघिदेखि आयोजना निर्माणको काम थालिएको थियो । ‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख वा जेठतिर परिक्षण गर्छौं ।’ २ दशमलव २ किलोमिटर लामो केवुलकारमा १३ वटा टावर रहनेछन् भने पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा सुरु गर्ने तयारी छ ।

प्रतिघण्टा ५ सय जना सेवाग्राहीलाई सेवा दिन मिल्ने आयोजनाले जनाउको छ । केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्नेछन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो ।

केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको कम्पनीको भनाई छ ।