पोखराको रामबजार हत्या प्रकरण–श्रीमान् श्रीमतिको बयान फरक

पोखरा, साउन ६ ।
रामबजारमा जेठ ३० गते भएको हत्या प्रकरणमा पति पत्नीकै बयान बाझिएको छ । पति रामजीले छोराको हत्या गरी आफूलाई समेत चक्कुले हानेर घाइते बनाएको जाहेरवाला सुमित्राले बताएकी छन् ।

मनिपालमा उपचारपछि हाल जिल्ला प्रहरीको हिरासतमा रहेका रामजी घलेले उक्त घटनामा बाहिरका २ व्यक्ति आएर आक्रमण गरेको तर आफू दोषी नभएको बयान दिएका छन् । उक्त घटनामा रामजी र सुमित्रा दुवै सख्त घाइते भएका थिए भने ११ वर्षे छोरा ज्ञापनको मृत्यु भएको थियो । सुमित्राको गर्भमा रहेको ९ महिनाको बच्चाको समेत मृत्यु भएको छ ।

मनिपाल मेडिकल कलेजमा १५ दिनको उपचारपछि उनलाई जिल्ला प्रहरीकै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनी बोल्न सक्ने अवस्था नरहेका बेला अस्पतालमै लिखित बयान लिएको थियो । उक्त बयानमा उनले आफ्नै जेठानको छोरासहित अर्को १ व्यक्तिले मास्क लगाए राति आएर आफूहरुमाथि आक्रमण गरेको बताएका छन् । सरकारी वकिलसँगको बयानमा समेत उनले त्यही बयान दोर्होयाएका छन् ।

सामान्य आम्दानी भएको आफूसँग जेठानका छोरा बेलबहादुर खाँणले पटक पटक मोटो रकम माग्दै आएको तर आफूले दिन नसक्ने बताएपछि उसले मार्ने धम्की पटकपटक दिएको रामजीको जिकीर छ । घटनाको दिन अबेरसम्म सुमित्रा, छोरा ज्ञापन र आफू भएर गफ गर्दै गरेको बेला बेलबहादुर र अर्को १ जना मास्क लगाएर कोठामा प्रवेश गरी आफूमाथि आक्रमण गरेको रामजीको भनाइ छ । पछाडिबाट समाएर घाँटीमा चक्कु राख्दा एक पटक फुत्कन सफल भएको र त्यतिबैलै सुमित्रालाई चोट लागेको उनले बताएका छन् ।

रामजी फुत्किएपछि १ जना घरको अर्कै कोठामा पसेर बत्ती बाल्ने र निभाउने र अर्के बाहिर चर्पीमा पसेका थिए । उक्त सयमा आफूले पुलिसको १०० नम्बरमा फोन गरेको समेत बयानमा बताएका छन् । प्रहरीलाई पूरै कुरा भन्न नपाउँदै पुन आफूमाथि आक्रमण भएको उनको जिकीर छ ।

रामजीका अनुसार त्यति नै बेला छोरा ज्ञापनले ‘दादा ड्याडीलाई के गर्नुभएको छाडिदिनुस भनेका थिए । त्यसपछि अत्यधिक रक्तश्रावले आफू बेहोस भएको र त्यसपछिको घटनाबारे केही थाहा नपाएको रामजीको बयान छ ।

घटनामा प्रयोग भएको चक्कु आफ्नो घरको नभएको रामजीले बताएका छन् भने सुमित्राले भने तरकारी काट्न प्रयोग भएको आफ्नै घरको चक्कुले रामजीले आफूमाथि प्रहार गरेको आरोप लगाएकी छन् ।

रामजीले किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरीले नलिएको उनका दाजु नारायणबहादुर घलेले बताए । छोरा ज्ञापन बाँचेको भए सबै घटना उसलाई थाहा भएको नारायणका जिकीर छ । ‘बेलबहादुरले घटनापछि हाम्रो घरमा आएर सबै रगत पुछेको थियो,‘नारायणले भने,‘हाम्रो घरमा आएर उसले रगत पुछ्न आवस्यक थिएन ।’ रामजीका काकाका छोरा गोकुल घलेले घटनामा परिवारभन्दा बाहिरका व्यक्तिको हात रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सुमित्राले दिएको जाहेरीबाट नै सबै अनुसन्धान हुने भएकाले रामजीको जाहेरी दर्ता गर्न आवस्यक नरहेको बताए । अनुसन्धानकै क्रममा रहेकाले यो बारेमा आफूले धेरै बोल्न नमिल्ले एसपी रानाको भनाइ थियो । घटनास्थालबाट लिएको रगतको नमुना परीक्षणबारे भने प्रहरीले केही बताएको छैन ।

मकवानपुर घर भई पोखरामा पेन्टर काम गर्ने ३९ वर्षे रामजी घलेले गर्भवती पत्नी र छोरामाथि चक्कुले आक्रमण भएको थियो । घटनापछि रामजीकी पत्नी सुमित्राको गर्भबाट शल्यक्रिया गरी मृत बच्चा निकालिएको बच्चाको मृत्यु भएको थियो । प्रहरीले ११ वर्षे ज्ञापनलाई घटनास्थलमै मृतवस्थामा भेटेको थियो ।

सुमित्राकी आमा पनि उनीहरुसँगै बस्थिन् । अलगै कोठामा सुतेकी सुमित्राकी आमा भने सकुशल छन् । उनले रामजीले नातिको हत्या गरेको र छोरीमाथि आक्रमण गरेको प्रहरीसँग बताएकी छन् ।
समाधान दैनिकका लागि पत्रकार सुरेशराज अधिकारीले लेखेका हुन् ।

FILE PHOTO