पोखराको रामबजारमा आगलागी, ५० लाखको क्षति

पोखरा, कार्तिक ६ ।
पोखरा १० गौरीमार्ग रामबजार स्थित नेशनल फर्निचर उद्योगमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ५० लाख बराबरको क्षति भएको सञ्चालक दिलबहादुर केसीले दाबी गरेका छन् । सोमबार राति साढे १ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो ।

‘कसैले चुरोटको ठुटो फालेर विस्तारै सल्किएको हुनसक्छ । हिँड्ने बाटो नजिकै छ । इलेक्ट्रिक सर्ट भएजस्तो लाग्दैन’ केसीले भने– ‘चाँडै नै दमकल आयो, साढे १ बजेतिर नियन्त्रणमा आयो ।’

उनका अनुसार एक ठाउँमा आगोले सखाप पारेपनि अन्य ठाउँमा दमकलले निभाउन पाएकाले अझै क्षति हुनबाट जोगिएको थियो । २५ वर्ष अघिबाट सञ्चालनमा आएको सो फर्निचर उद्योगमा पलङ, दराज, खापाहरु जलेर नष्ट भएका हुन् ।

स्टोरमा ल्याउनु अगाडिका निर्माणाधीन सामाग्रीहरु जलेर नष्ट भएको, चार वटा मोटर समेत ध्वस्त भएको, पूराना सालको काठले बनाइएको टहरोजति जलेर नष्ट भएको केसीको भनाई छ ।