पोखराको यातायात गुरुयोजना कोरियाले बनाईदिने, ४ अर्व ल्याउने तयारी

पोखरा, भदौ २३ ।

शहरीकरणको रफ्तार अनुसार प्रविधिको प्रयोग नहुँदा पोखराको ट्राफिक ब्यवस्थापन गन्जागोल बनेको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी राखेर पनि लामो समयसम्म गाडी जाम हुन्छ पोखरामा । एकातिर साँघुरा सडक र अर्कातिर अनियन्त्रित रुपमा भित्रिएका गाडीहरु पोखराका लागि चुनौति बनिरहेको छ । बढ्दो शहरीकरणसँगै पोखराको यातायात ब्यवस्थापन निकै फितलो र कमजोर बन्दै गएको छ ।

पछिल्लो समय अधिक आर्थिक फड्को मारेको कोरियाको यातायात ब्यवस्थापन विश्वकै लागि नमुना मानिन्छ । खासगरी सार्वजनिक यातायातको ब्यवस्थापनबाट कोरियाले विश्वलाई सिकाईरहेको छ । कोरियाकै एउटा कम्पनीले पोखराको यातायात गुरुयोजना बनाईदिने भएको छ । कोरियाको ग्रिन टेक्नोलोजी सेण्टर नामक संस्थाले ६ महिनाभित्रै पूर्व सम्भाब्यता अध्ययन गर्ने गरी सम्झौता भएको छ । कोरिया भ्रमणमा रहेका पोखराका मेयर मानबहादुर जिसी र ग्याङवोन प्र्रान्तका गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रका प्रमुख क्युङ्ग नाम सिनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आउँदो फेब्र्रुअरी भित्रै पूर्व सम्भाब्यता अध्ययन सक्नुपर्ने छ । पूर्व सम्भाब्यता अध्ययनका लागि कम्पनीले ५० हजार डलर खर्च गर्ने छ । गुरुयोजना तयार भएपछि ग्लोवल कार्वन फण्डको सहयोग लिन सहज हुने छ । त्यसका लागि कोरियाली सरकारलाई प्रश्ताव कम्पनीले नै बुझाउने छ । प्र्रश्ताव पास भए २०२१ भित्रै गुरुयोजना बनाएर कार्यान्वयनको चरणमा लैजाने सहमति भएको कोरियामा रहेका मेयर जिसीले बताए । कम्पनीले हाल भियतनाम, युगाण्डा र भुटानमा पनि यही नमुनाको काम गरिरहेको छ ।

प्रोजेक्ट सफल भए पोखरामा अहिले भैरहेको ट्राफिक ब्यवस्थापनको जटिलता अन्त्य हुने मेयर जिसीको विश्वास छ । पोखरा अन्तराष्ट्रिय शहर बनिरहेको छ । विमानस्थल बनेपछि यहाँ गाडीको फ्लो पनि उत्तिकै बढी हुन्छ । तर यसतर्फ न महानगरले सोचेको छ, नत प्रदेश र संघ सरकारले । आगामी १ सय बर्षसम्मलाई हेरेर यातायात गुरुयोजना बनाईने जिसी बताउँछन् । ‘अहिले बनाएको योजना अर्को बर्ष पूरानो हुन्छ । महानगरमा हाकिम र जनप्र्रतिनिधि फेरिएपिच्छे गुरुयोजना पनि फेरिन्छ,’ उनले भने, ‘अव कम्तिमा ५० बर्ष पूरानो नहुने गरी योजना बनाउनुपर्छ । सडक विस्तारदेखि गाडीको ब्यवस्थापनसम्म मिलाउनुपर्ने दायित्व सोचेर योजना बन्छ ।’

कार्वन उत्सर्जन कम गर्न संगठित संस्था ग्रिन टेक्नोलोजी सेण्टरले प्रश्ताव तयार गरेपछि नेपाल सरकार हुँदै कोरियामा पुग्छ । प्रश्ताव पास भए ४ अर्व रुपैयाँको प्रोजेक्ट पेस गर्न लागिएको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले आदर्श समाजलाई बताए । ‘प्रि फिजिविलिटी स्टडी गरेर एउटा रिपोर्ट महानगरमा आउछ । त्यसकै आधारमा नेपाल सरकारसँग स्विकृति लिएर कोरिया पठाउने हो,’ उनले भने, ‘प्रोजेक्ट सफल भए ४ अर्व रुपैयाँसम्म पोखरा भित्रिन्छ ।’

योसँगै पोखरामा ड्रिम ग्रिन ट्रान्सपोर्ट, इको टुरिजम, स्मार्ट सिटी टेक्नोलोजी, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत विकासका लागि पनि कोरियाले सघाउने समझदारी भएको छ । सम्झौता पश्चात तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्याँसको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । मेयर जिसीले नेपाल हरित ग्याँस उत्सर्जन कम गराउन प्रतिबद्ध रहेको बताए । यसअघि पनि कोरियाले पोखरालाई प्राविधिक सहयोग गर्दै आएको छ ।