‘पोखराको मोवाइल टावर प्रदेशकै आइटी हव’

पोखरा, साउन २० ।
‘संसारमा बनेका सबैजसो ब्राण्डका मोवाइल । एउटै छानामुनि भएभरका सुविधा । विहान देखि रातीसम्म नै मार्केट चलाउने योजना छ, पोखरा मोवाइल टावरका अध्यक्ष उदय केसी भन्छन्–२ बर्षभित्र मोवाइलको लागि प्रदेशमा यसलाई लाष्ट डेस्टिनेशन बनाउछौं । यो अव आइटीको हव बन्छ ।’ गएको बैशाख १ गतेदेखि अनौपचारिक सञ्चालनमा आएको टावरभित्र अहिले ८० वटा स्टल छन् । २० ब्राण्डका मोवाइल बेच्ने टावरले ग्राहकको सुविधालाई ध्यान दिएर बिक्रि पछिको सेवामा जोड दिएको केसीको भनाई छ । ‘ग्राउण्ड फ्लोरमा होटल छ । पहिलो तलामा मोवाइलका होलसेल, त्यसपछि रिपियरिङ, त्यो भन्दा माथी सर्भिस र सिरानमा रेष्टुरेण्टको ब्यवस्था छ, उनले थपे–ग्राहक मार्केटमा पसेपछि रित्तो हात फर्किनु पर्दैन । खोजेको सेवा पाउछन् । त्यो पनि सस्तो मूल्यमा ।’

मोवाइल टावरको प्रचार स्वरुप आउँदो भदौ १७ देखि मोवाइल एक्स्पो गर्ने तयारी थालिएको छ । एक्स्पो ११ दिन चल्नेछ । मोवाइल टावर सञ्चालक समितिले आइतबार पत्रकार सम्मेलन गरी टावरको औपचारिक शुभारम्भसहित पोखरा टावर मोवाइल एक्स्पो २०७५ गर्ने जानकारी दिएको हो । मेलाका प्रचार संयोजक नारायण सुवेदीले मेलमा विभिन्न कम्पनीका मोवाइलमा १० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको जानकारी दिए । त्यसबाहेक हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उनको भनाई छ ।

‘अरु ठाउँमा बर्षको एक पटक एक्स्चेञ्ज अफर आउँछ । हामी दिनहुँ एक्स्चेन्जका लागि छुट्टै पसल राख्दैछौं । होलसेल र खुद्राका लागि यो भन्दा अरु बिकल्प छैन, उनी दावी गर्छन्–मोवाइल प्रयोग कर्ताका लागि यो एउटा हव हो ।’ मेला अवधिभर पोखरा मोबाइल टावरमा मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेलमा टावर बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुला रहने बताइएको छ । यसलाई बढाएर पछि राती १० बजेसम्म पसल खुला रहने संचालक समितिले जनाएको छ । २ करोड लागतमा निर्माण भएको कम्पनीमा ८ जनाको शेयर छ ।