पोखराको बजेट पौने ६ अर्व

पोखरा, असार ८ ।

पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बनाउने काम गरिरहेको छ । आगामी बर्षका लागि करिव पौने ६ अर्वको बजेट प्रक्षेपण गरिएको छ । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख रुपैयाँको बजेट अनुमान गरिएको हो । अघिल्लो बर्ष ४ अर्व ३ करोड रुपैयाँ बजेट सार्वजनिक गरेर कार्यान्वयन थालेको महानगरले यसबर्ष डेढ अर्वभन्दा बढी रकम थप्न लागेको हो । यो बजेट अघिल्लो बर्षभन्दा करिब १७ प्रतिशत बढी हो । यो बर्षको बजेट मध्ये १ अर्व ५० करोड रुपैयाँ प्रशासनिक खर्च छ भने बाँकी रकम पुँजीगत तर्फ छ । आगामी बर्ष पनि महानगरले सबैभन्दा धेरै पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्दैछ । पूर्वाधार तर्फ १ अर्व ५७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिँदै छ भने आर्थिक विकासमा ७८ करोड ९३ लाख रुपैयाँ विनियोजनको तयारी छ ।

यस्तै सामाजिक विकासमा पनि ७८ करोड ९३ लाख, वातावरणमा ४७ करोड ३५ लाख र संस्थागत सुधार तथा सुशासन शीर्षकमा ३१ करोड ५७ लाख रुपैयाँ छ । बाँकी २१ करोड रुपैयाँ चाहीँ कोषहरुको ब्यवस्थापन गर्नका लागि विनियोजन गरिन लागेको महानगरले जनाएको छ । कूल बजेटमध्ये २ अर्व हाराहारीमा आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य राखिएको छ भने बाँकी रकम नेपाल सरकार, प्रदेश सरकार र अन्य संस्थाबाट विभिन्न शीर्षकमा अनुदान प्राप्त हुनेछ । नेपाल सरकारले पोखरा लेखनाथ महानगरपालिकाका लागि १ अर्व ८२ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश सरकारले पनि ८० करोड हाराहारीमा बजेट महानगरलाई दिएको छ ।

महानगरले नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । राज्य पुर्नसंरचनापछि जिल्ला विकास समितिलाई समन्वयको रुपमा मात्रै स्थापित गरेकोले यसअघि जिविसले सञ्चालन गर्दै आएको घाटगद्दी यसबर्षदेखि महानगरपालिका आँफैले सञ्चालन गर्नेछ । यसलाई पनि आन्तरिक आम्दानीको थप श्रोतको रुपमा ब्यवस्थित गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । ‘महानगरको मुख्य श्रोत नै एकीकृत सम्पत्ति कर हो । आगामी बर्ष महानगरले कुनै पनि क्षेत्रमा कर नबढाउने नीति लिएको छ, उनले भने–बरु करको दायरा बढाउँदै गएका छौं ।’ महानगरमा जनप्रतिनिधी निर्वाचित भएपछि पनि करको नयाँ श्रोत भने खोजी हुन नसकेको आरोप महानगरमाथी छ । यही असार १० गते महानगरले आफ्नो बजेट सार्वजनिक गर्दैछ । सोही दिन नीति तथा कार्यक्रम र बजेट सँगसँगै ल्याउने तयारी छ । यसअघि असार ८ अर्थात् शुक्रबार (आज) नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको थियो ।