पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा आकासेपुल बन्ने (तयार भयो डिजाइन)

पोखरा, पुस १९ ।
पछिल्लो समय पोखराको सडक निकै ब्यस्त छ । गाडीको चापले पैदलयात्रुलाई निकै सास्ती पनि भैरहेको छ । खासगरि पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकको क्षेत्रमा गाडी जाम हुँदा यात्रुलाई धेरै समस्या परिरहेको छ ।

पोखरा महानगरले यही समस्यालाई सम्बोधन गर्न दुई ठाउँमा आकासेपुल निर्माण गर्न लागेको छ । सिर्जनाचोक र पृथ्वीचोकमा आकासेपुल निर्माणको तयारी गरिएको महानगरले बताएको छ । सिर्जनाचोकमा पुल बनाउन १ करोड ८० लाख र पृथ्वीचोकमा २ करोड ४१ लाख रुपैयाँ लगानी हुने महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीना बताउँछन् ।

उनका अनुसार यो बजेट प्रश्तावित मात्रै हो । अन्तिम इस्टिमेट तयार भएपछि टेण्डर निकालिनेछ । सिर्जनाचोकमा पुल बनाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन गरेका छन् भने बाँकी रकम महानगरले लगानी गर्दैछ । पुल निर्माणका लागि डिजाईन समेत तयार भैसकेको छ ।

‘डिजाईन तयार भयो । यो महिनाभित्रै टेण्डर निकाल्ने तयारी छ, उनले भने–सकेसम्म चालू बर्षभित्रै पुल बनिसक्छ ।’ महानगरले २०६६ सालदेखि नै नगरका मुख्य चोकहरुमा आकासेपुल निर्माण गर्ने निर्णय गर्दै आएको थियो ।