पोखराको पर्यटन समीक्षा–संख्या बढ्यो, गुणस्तर बढेन

पोखरा, माघ ८ ।
पोखरामा पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्यो । तर यहाँका पर्यटन ब्यवसायी सन्तुष्ट छैनन् । उनीहरुले पर्यटकको संख्या बढेपनि गुणस्तरीय पर्यटक नबढेका बताए । ‘पर्यटकको भिडले पर्यटन विकास हुँदैन, उनीहरु भन्छन्–गुणस्तरीय पर्यटक आए कि आएनन् भन्ने ठूलो ईस्यु हो ।’ सरकारले केबल पर्यटकको संख्यामा ध्यान दिएको तर ब्यवसायीको अवस्थाबारे जानकारी नराखेको पूराना पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराईले बताए ।
पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१६ मा सात लाख ५३ हजार पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा भने नेपालमा आउने पर्यटकको संख्या जम्मा पाँच लाख ३९ हजार रहेको थियो । विभागको तथ्यांकले सन् २०१४ मा सात लाख ९० हजार र २०१३ मा सात लाख ३६ हजार पर्यटक नेपाल आएको देखाएको छ । पर्यटन आर्थिक समृद्धिको आधार भएको बताउने प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी यसको विकासका लागि सडक सञ्चालको विस्तारका साथै निर्माणाधीन विमानस्थललाई चाँडो सम्पन्न गर्नुपर्ने बताउँछन् ।
नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्पपछि सन् २०१७ मा १० लाख ६० हजार विदेशी पर्यटक नेपाल आएको बताए । ‘भूकम्पले नेपालका केही सीमित ठाउँमा क्षति बनाए पनि त्यसले समग्र नेपालकै पर्यटनमा असर पार्यो, उनले भने–यसबीचमा सबै क्षेत्र र सम्पदा क्षति भएका होइनन् भन्ने सन्देशलाई विश्व बजारमा लैजाने प्रयासका कारण पर्यटकको आगमनमा वृद्धि भएको हो ।’
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटनको गुणस्तर बढाउन पर्यटनका सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए । ‘पोखरामा आएका पर्यटकको तथ्य तथ्यांक कसैसँग पनि छैन, उनले भने–पर्यटक आउँदा ब्यवसायीलाई फाईदा पुग्यो कि पुगेन त्यो ठूलो कुरा हो ।’ सन् २०१७ मा पोखराको पर्यटनबारे छलफल गर्न पर्यटन बोर्ड पोखराले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पर्यटन विकासका लागि नयाँ योजना खाँचो भएको बताए ।