पोखराको नगरसभा आज (हेर्नुस् के के हुँदैछ)

पोखरा, फागुन २८ ।
पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबार बस्दैछ । सभा विशेषगरी कानुनमा केन्द्रित हुनेछ । महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सभामा छलफल गर्ने तयारी छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका सोमबारको बैठकमा छलफल हुने मेयरले जानकारी दिए । विभिन्न समयमा सम्बन्धित बिषयविज्ञ र सरोकारवालासँग छलफल गरेर ऐन, कार्यविधि तथा निर्देशिका ल्याईएको उनले बताए ।
आईतबार पत्रकार सम्मेलन गरी नगरसभाबारे जानकारी गराईएको हो । कार्यक्रममा सहभागी पत्रकारले नगरपालिकाले ल्याउन लागेको एफएम रेडियो सञ्चालन कार्यविधि अंकुश लाउने गरी आएको बताएका छन् । पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले शाहीकालमा पनि स्वतन्त्र रहेको प्रेसमाथी अंकुश लगाएर लोकतन्त्रमाथी अवरोध सिर्जना गर्न लागेको आरोप लगाए । संविधानअनुसार १०० मेगावाट सम्मको रेडियो ब्यवस्थापन र सञ्चालन स्थानीय तहले गर्ने उल्लेख छ । सोही अनुसार आफ्नो क्षेत्राधिकार भित्र सञ्चालन हुने रेडियोलाई ब्यवस्थित गर्न कार्यविधि तयार गरिएको हो । तर कार्यविधिमा सञ्चारमाध्यम प्रति कसिलो प्रावधान राखिएको छ ।
एफएम रेडियोको ईजाजत पत्र नविकरणदेखि कार्यक्रम प्रशारणसम्म महानगरले अंकुश थापेको छ । नविकरण गर्दा आम्दानीको २ प्रतिशत महानगरलाई बुझाउनुपर्ने, ईजाजतपत्र १ बर्षसम्म नविकरण नभए रद्ध गर्नेदेखि महानगरले तोकेभन्दा फरक कार्यक्रम प्रशारण गरे एफएम रेडियो नै बन्द गर्ने चेतावनी सहितको कार्यविधि प्रश्तावका रुपमा पेश गर्ने तयारी छ । पत्रकार सम्मेलनमा पत्रकारले गुनासो गरेपछि मेयर मानबहादुर जिसीले कार्यविधि पूरै आँफुले पनि नपढेको भन्दै पुनः अध्ययन गरेर कार्यविधि खुकुलो पार्ने प्रतिबद्धता जनाए । महानगरले झण्डै १ सय २५ वटा कानुन तथा कार्यविधि तयार गर्दैछ । अरु कार्यविधिमा पनि नियमित काम भैरहेको कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए । कानुनको बिधेयकमाथी छलफल गर्न र निर्णयका लागि वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा विधायन समिति गठन भएको थियो । समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य सदस्य छन् ।