पोखराको नगरसभामै सामाजिक परिचालकको प्रदर्शन

पोखरा, चैत २८ ।
पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक परिचालकहरु निरन्तर आन्दोलनमा छन् । सरकारले गरेको निर्णय स्थानीय सरकारले अटेर गरेर आँफुहरुलाई नियुक्त नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सामाजिक परिचालकहरुले पोखराको सभागृहमा चलिरहेको नगरसभामा प्रदर्शन गरिरहेका छन् । कालो ब्यानर सहित विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर उनीहरु सभागृहमा पुगेका हुन् ।

तत्कालै नियुक्ति दिनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए जस्तोसुकै संघर्षका कार्यक्रम गर्न पनि पछि नहट्ने सामाजिक परिचालकहरुको अडान छ । सरकारले गएको पुस १५ देखि सामाजिक परिचालकलाई हटाएको थियो । तर निरन्तरको आन्दोलन पछि सरकारले तलव ब्यहोर्ने गरी आउँदो असार मसान्तसम्मका लागि नियुक्ती दिन निर्देशन पठाएको हो ।

तर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले चाहीँ कुनैपनि हालतमा सामाजिक परिचालकलाई नियुक्ती नदिने अडान राखेका छन् । उनले भएका कर्मचारी ब्यवस्थापन गर्नै कठीन भएको बेला परिचालकलाई नियुक्ती दिँदा बढी समस्या आउने बताए ।