पोखराको नगरसभामा काँग्रेसले किन गर्यो नाराबाजी ? (पढ्नुस् विस्तृतमा)

पोखरा, चैत ७ ।
पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा काँग्रेस प्रतिनिधीको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायका निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे । ११ बजेका लागि डाकिएको बैठकमा राष्ट्रिय गान बज्नेवित्तिकै पोखरा ९ का वडाध्यक्ष तथा महानगरमा काँग्रेसका सचेतक रामराज लामिछानेले विशेष समय मागेर सभा नचलाउन आग्रह गरे । ‘महानगरले काँग्रेसका प्रतिनिधीलाई पाखा लगाएर निर्णय प्रक्रियामा सहभागी गराउँदैन । कर्मचारी भर्ना गर्दा हामीलाई एकपटक पनि सोधिएन, उनले भने–अनमी र प्राविधिक राख्दा बहुमतको रवाफमा एकलौटी निर्णय भयो । हामीलाई यो स्विकार्य छैन ।’ आफ्ना कुरा सकेपछि उनले नगरसभा स्थगित गर्न आग्रह गरेका हुन् । त्यसपछि वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले समय मागेर नगरपालिकामा गठन भएको पदपुर्ति समितिलाई जानकारी नै नदिईकन आँफुखुशी कर्मचारी भर्ना प्रक्रियामा लगिएको आरोप लगाए । यसअघि नियुक्ती पाईसकेका स्वास्थ्यतर्फका अनमी र एचए तथा पछिल्लो समय परीक्षा लिएर नतिजा सार्वजनिक भैसकेका प्राविधिक तर्फ उनको आरोप लक्षित थियो । ‘स्वास्थ्यमा अनमी र एचए गरेर १९ जना राख्ने सर्वसहमति भएको हो । पछि एकजना स्टाफ नर्स परीक्षाबिनै राखियो, उनले भने–प्राविधिकलाई पनि गलत प्रक्रियाबाट परीक्षा सञ्चालन गरेर नतिजा निकालिएको छ । काँग्रेसका प्रतिनिधीसँग समन्वय भएन ।’
६ नम्बर वडाका अध्यक्ष जगत पहारी, ३ नम्बर वडाका अध्यक्ष रविन्द्रबहादुर प्रजु, १२ नम्बर वडाका अध्यक्ष मोहनप्रसाद बास्तोला लगायतले लगातार स्थगनको माग गरेपछि मेयर मानबहादुर जिसीले १५ मिनेट सभा स्थगीत गरेर समस्या सुल्झाउन आग्रह गरे । समय सकियो, पुनः बैठक कक्षमा जनप्रतिनिधी छिरे । सभा चल्न नपाउँदै काँग्रेसका वडाध्यक्ष र सदस्यहरुले नाराबाजी सहित विरोध गरिरहे । मेयर जिसीले पटक पटक विरोध रोकेर सभा सञ्चालनमा सघाउन आग्रह गरेपनि उनीहरुले समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान लिए । एमाले तर्फका केही वडाअध्यक्ष र सदस्यले सभा चलाउन माग गर्दै मेयरलाई दवाव दिए । तर निरन्तर नाराबाजी पछि पुनः आधा घण्टा सभा स्थगित भयो । परीक्षा प्रक्रिया छानवीन गर्ने सहमति पछि झण्डै २ घण्टापछि नगरसभाले निरन्तरता पायो । प्राविधिक तर्फको परीक्षाका बिषयमा छानवीन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा काँग्रेस र एमालेले १÷१ जना विज्ञ खटाउने छ । माग सुनुवाई नभए पुनः आन्दोलन गर्ने काँग्रेसको चेतावनी छ । उता मेयर जिसीले भने कुनै त्रुटी नभएको भन्दै त्रुटी देखिए नतिजा खारेज गरेर पुनः नयाँ प्रक्रियाबाट परीक्षा लिने प्रतिबद्धता जनाए । ‘प्रक्रिया अनुसार नै परीक्षा लिईएको हो । यसमा गलत नियत हाम्रो छँदै छैन, उनले भने–छानवीन समिति गठन भएको छ । त्रुटी भेटिए पुनः परीक्षा हुन्छ ।’
सहमति पछि सञ्चालन भएको नगरसभामा मंगलबार ६ वटा विधेयकमाथी दफावार छलफल भएको छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रवद्र्धन ऐन, कृषि नीति, पशु नीति, उपप्रमुखसँग महिला कार्यक्रम निर्देशिका र महानगरीय सहकारी ऐनका बिषयमा छलफल भएको र बाँकी विधेयकबारे बुधबारको बैठकमा छलफल हुने नगरसभाका सचिव दीर्घनारायण पौडेलले जानकारी दिए । महानगरपालिकाले तत्काल १८ वटा नीति तथा कार्यविधि, ऐनलाई विधेयकको रुपमा सभामा प्रश्तुत गर्ने तयारी गरेको छ । सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्य्विधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक र बजार अनुगमन निर्देशिकाबारे पनि छलफल हुने र नगरसभाबाट पारित हुने पौडेलले बताए ।
गएको फागुन २८ गते बसेको नगरसभाको दोश्रो बैठक विधेयकको अध्ययन गर्ने समय छुट्याएर साता दिन पछि बसेको हो । बैठक कानुन केन्द्रित छ । सम्बन्धीत ऐन नियमका विषयविज्ञसँग छलफल गरेर सभामा प्रश्तुत गरिएको विधायन समितिका संयोजक तथा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलले बताए । समितिमा एमालेबाट वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य तथा काँग्रेसबाट वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला सदस्य छन् । पहिलो चरणमा महानगरले स्थानीय तहसँग मात्रै पूर्ण अधिकार रहेका कानुनहरुको मस्यौदा बनाएको हो ।