पोखराका वडा–वडामा कनेक्टिङ रोड, २७ वटा ठूला सडक स्तरोन्नती हुँदै

प्रकाश ढकाल
पोखरा, जेठ ३१ ।
साविकका गाविसलाई गाभेर तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एकैचोटी पोखरा महानगरपालिका बन्यो । न भौतिक संरचना, न गतिलो सडक । महानगरपालिका बन्दा तत्कालीन मौजा गाविस हालको वडा नम्बर २० मा सजिलोसँग गाडी गुड्दैनथ्यो । अहिले पनि मुश्किलले जीप बाहेक ठूला गाडी र एम्बुलेन्स मौजासम्म पुग्दैन । अघिल्लो बर्ष सामान्य मर्मत सम्भार गरेपछि आपत पर्दा काम चलाउ बाटो बनेको छ । यो सडकमा ग्राभेल र पक्की नाला बनाउन महानगरले थप करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको छ ।

६ करोड ६१ लाख रुपैयाँमा अगष्ट भित्रै बाटोलाई ७ मिटर फराकीलो पार्ने गरि स्तरोन्नती गर्न ठेक्का सम्झौता भैसकेको वडाध्यक्ष सीम गुरुङले बताए । ‘एम्बुलेन्स जान नसकेर कोही बिरामी भए घरमै मर्छन् । सुत्केरी अस्पतालसम्म जान भ्याउँदैनन् । नगरपालिका भनेको छ तर नगरबस चल्दैन,’ उनले भने, ‘कम्तिमा नगरबासी भएको अनुभुति नागरिकले गर्न पाउनुपर्छ । मौजा पनि पोखरा महानगरपालिका हो भन्ने विश्वास विकासबाट जनस्तरमा पुग्नुपर्छ ।’ अहिले भएको साँघुरो सडकलाई फराकीलो पार्ने र ग्राभेल गर्नेगरि काम अघि बढेको उनले बताए ।

मौजा मात्रै होईन पछिल्लो समय गाविसबाट सिधै महानगर बनेका अधिकांश ठाउँको ब्यथा उही छ । कालिका, माझठाना, भरतपोखरी, निर्मलपोखरी, कृष्ती, पुम्दीभुम्दी, चापाकोट, भदौरे तामागी, कास्कीकोट, सराङकोट, पुरुञ्चौर, अर्मला, काहुँडाँडा, आर्वाबिजय लगायतका ठाउँमा राम्रोसँग गाडी गुड्ने सडक छैन । साविकका सबैजसो गाविसबाट महानगरपालिकामा सीधै जोडिने गरि कनेक्टिङ रोड निर्माणमा बढी जोड छ । सबै सडकमा कम्तिमा ६ मिटर सडक र १ मिटरको पक्की नाला निर्माण हुने महानगरका इन्जिनियर राजु रेग्मीले जानकारी दिए ।

‘महानगरमा जेठ लागेपछि गाडी चल्दैन । अव यो अवस्था लामो रहँदैन,’ उनले भने, ‘एकबर्षभित्र बाह्रैमासा सबै सडकमा गाडी गुड्छन् । सडकका कारण रोकिनु पर्दैन ।’ वडालाई महानगरसँग जोड्न सबैभन्दा धेरै लगानी भएको छ । महानगरपालिकाले वडा स्तरीय २७ वटा कनेक्टिङ सडकमा काम गरिरहेको छ । प्राथमिकताका आधारमा पहिलो र दोस्रो गरी दुई चरणमा काम भैरहेको उनले सुनाए । ‘तत्काल आवश्यक पर्ने र बढी रणनीतिक सडकहरु पहिलो प्राथमिकतामा छन् । अरु विकल्प भएका ठाउँहरुका सडकलाई दोश्रो प्राथमिकतामा राखिएको छ,’ रेग्मीले भने, ‘पहिलो प्राथमिकतामा परेका सडकलाई धेरै बजेट छुट्याईएको छ । काम पनि त्यही अनुसार जिम्मा दिईएको छ ।’ पहिलो प्राथमिकतामा परेका सडकलाई दुरी अनुसार डेढ करोडदेखि १० करोडसम्म बजेट विनियोजन भएको छ ।

वडा नम्बर १८ मा पर्ने देउराली–कमेरेडाँडा सडकलाई १ करोड ६७ लाख, अर्मलाकोट–मौजा सडकलाई ४ करोड ७४ लाख, चितेपानी–रैकर सडकमा ४ करोड ८२ लाख, शिवालय–तिलाहार–चिलाउने खर्क सडकलाई ५ करोड ६४ लाख, मनिपाल–मौजा विसौना–सिक्लेस सडकमा ६ करोड ६१ लाख, काहुँखोला–चिसापानी–मौजा डाँडागाउँ सडक ६ करोड ६४ लाख, खत्रीपहिरो–बेत्यानी–सौर्य डक ६ करोड ८३ लाख, कात्रे–वाम्दी–घाटीछिना सडक ७ करोड ४ लाखमा ठेक्का दिईएको छ ।

यस्तै, बाग्लुङ बसपार्क–कास्कीकोट सडक १० करोड २३ लाख, ठूलढुङ्गा–चैनपुर–सुरौंदी सडक १० करोड २३ लाख, तिलाहार–काउलेपानी–तारेभिर सडक २ करोड २७ लाख तथा आरुपाटा–कालिका सडक २ करोड २१ लाख रुपैयाँमा स्तरोन्नतीको काम हुँदै छ । सबै सडकको टेण्डर सकेर ठेक्का समेत लागिसकेको महानगरले जनाएको छ । पहिलो प्राथमिकतामा परेका दुईवटा सडकको भने यसैबर्ष कालोपत्रे हुने छ । तिलाहार–काउलेपानी–तारेभिर र देउराली–कमेरेडाँडा सडक पूरै कालोपत्रे गरिने इञ्जिनियर रेग्मीले बताए । ‘ड्रेन र ग्राभेल भैसकेको ठाउँमा कालोपत्रे गरिन्छ । अन्ततिर ग्राभेल र ड्रेन नै बनाउने हो,’ उनले भने ।

‘धेरैतिर असारे विकासको समस्या छ । अहिलेसम्म हामीले पनि यो नियती भोग्दै आयौं,’ मेयर मानबहादुर जिसी भन्छन्, ‘बहुबर्षे ठेक्का दिएपछि असारको प्रेसर कसैलाई पनि पर्दैन । समयमा काम हुन्छ । समयमै भुक्तानी हुन्छ ।’ एकबर्षभित्रमा पहिलो प्राथमिकताका १२ वटै सडकको काम सकिने र त्यसलाई कालोपत्रे गर्ने चरणमा लैजाने उनले बताए । दोश्रो प्राथमिकताका सडकहरुमा पनि भदौपछि आवश्यक्ता अनुसार बजेट विनियोजन गरेरै काम हुने उनको भनाई छ ।

शिवालय–बतासे–मनिपाल, पामेदेखि वडा नम्बर २४ जोड्ने सडक, पोखरा २१ को स्वास्थ्य केन्द्र–शिवढुङ्गा, खराने–राखिडाँडा, झाँझरमारे–ओख्ले, स्याङखुदी–कँडेल गाउँ, बिजयपुर–सुर्के मैदान, लेखनाथ शिरोमणी मार्ग, रातिखहरे घाट–निर्मलपोखरी, घार्मीखोला–जुम्लेटी–तितेपानी, आमाकुना–गुन्टेचौर–शेरा, कुलायन–मौजा, खपौंदी–फेदी, अमलाबिसौना–तल्लोथर डाँडा, ठूलाखेत–हर्पन–पञ्चासे सडकलाई दोस्रो प्राथमिकतामा राखिएको छ । ति सडकहरुमा ७५ लाखदेखि डेढ करोड रुपैयाँ सम्म विनियोजन गरिएको छ । भदौसम्म काम पूरा हुने मेयर जिसीले जानकारी दिए ।