पोखराका वडास्तरमा कांग्रेसको प्रशिक्षण

पोखरा, फागुन ११ ।
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वडा स्तरबाट प्रशिक्षण सुरु गरेको छ । शनिबार पोखरा १० नम्बर वडाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको हो । काँग्रेसको बदलिएको विधान, जनस्तरका समस्या बुझ्ने र समाधान गर्ने तथा जनसम्पर्क बढाउने बिषयमा तालिम दिईएको हो ।

प्रतिष्ठानका सदस्य द्धय किशोरदत्त बराल, सरस्वती गुरुङ र नेपाल सांस्कृतिक संघ गण्डकी प्रदेश संयोजक कृष्णकुमार गुरुङले प्रशिक्षण कार्यक्रममा सहजीकरण गरेका हुन् । बरालले काँग्रेसले पछिल्लो समय जनस्तरको समस्या नबुझ्ने कारण नोक्सान ब्यहोरेको भन्दै जनता सँगसँगै हिडेर बाटो सुधार्न प्रशिक्षण थालिएको बताए ।

अर्की प्रशिक्षक गुरुङले पनि विशेष गरी युवा पुस्ता, महिला र पिछडा समुदायलाई राजनीतिको मुलधारमा ल्याउन प्रशिक्षण दिईएको बताईन् । नेता कार्यकर्तामा पार्टी अनुशासन, सञ्चार आदानप्रदान लगायतका बिषयमा पनि छलफल भएको थियो ।

इकाई सभापति राजेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समर बहादुर ऋेष्ठ र नारायण श्रेष्ठले गरेका थिए भने स्वागत निर्मला कार्की भण्डारीले गरिन् । प्रशिक्षणमा १ सय ५० भन्दा बढीको सहभागीता थियो ।