पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए

पोखरा, जेठ ३१ ।
पोखरा महानगरपालिकाले लेखनाथमा बहुप्राविधिक शिक्षालय सन्चालन गरेको छ । ३ वर्षअघि सुरु भएको शिक्षालयमा अटोमोवाइल र सिभिल इन्जिनियरिङको पढाइ भैरहेको छ । विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर सन्चालनमा ल्याइएको शिक्षालयमा अधिकाशं छात्रबृत्तिका विद्यार्थी पढ्छन् ।
पोखरा र विभिन्न ठाउँबाट विद्यार्थी दैनिक त्यहाँ पढ्न जान्छन् । कतिपय विद्यार्थी समयमा गाडी नपाएका कारण पढ्न जानै समस्या हुने गरेको छ । शिक्षालयले विद्यार्थीकै सुविधाका लागि कलेज बस किनेको छ । त्यहाँका निर्देशक लक्ष्मण तिमिल्सीनाले आफ्नो सुविधाका लागि गाडी खरिद गर्न दिएको बजेटबाट कलेज बस किनेका हुन् ।
शिक्षालयको गाडीमा लाग्ने भन्सार छुट गर्न शिक्षा मन्त्रालयलाई आव्हान गरेपनि मन्त्रालयले नमानेपछि उनले आफ्नै गाडी किन्ने पैसा कलेज बसमा लगाए । ‘सँधै पैसा तिरेर हिड्न सक्ने विद्यार्थी छैनन् । कतिपय विद्यार्थी छात्रबृत्तिमा पढाएका छौं,’ उनले भने, ‘मन्त्रालयसँग सस्तोमा गाडी ल्याउने पत्र बनाइदिन आग्रह गरें । तर मानेन । बाध्य भएर कलेज बस किन्न परेको हो ।’
२०७७ फागुनमा पोखरा महानगरले बस खरिद गर्ने निर्णय गरेको थियो । भन्सार छुट लगायत प्रक्रियाका कारण अहिलेसम्म आउन सकेन । पूरानो टेण्डर रद्ध गरेर नयाँ बाटोबाट गाडी किनेको तिमिल्सीनाले बताए ।