पोखराका महोत्सवमै राजनीतिक गन्ध

पोखरा, पुस २७ ।
पोखरामा विहिबारदेखि फरक दुई महोत्सव चलेको छ । एउटा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला र दोश्रो युनाईटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव । यो बर्ष एउटा गज्जवको संयोग पर्यो, पोखराका दुईवटै ठूला महोत्सव एउटै मितिबाट थालियो, जवकी अहिलेसम्म कहिल्यै पनि यो महोत्सव जुधेको थिएन । महोत्सव मितिबारे आयोजकका आ–आफ्नै धारणा छन् । युनाईटेड क्लव नियमित क्यालेण्डर अनुसार महोत्सव गरेको भन्छ, पोखरा उद्योग वाणिज्य संघ आपसी कोअर्डिनेसन नहुँदा मिति जुधेको बताउँछ ।
सँधैजसो मंसिरमा हुने महोत्सव चुनावका बेला परेपछि मिति सारेर पुसमा पुर्याइएको हो । ‘हाम्रो क्यालेण्डर मंसिरमा हो । यसपाली चुनावले बिथोलियो, संघका एक सदस्यले भने–हामीले महोत्सव सारेपछि पोखरा महोत्सवको मिति पनि सर्ला भन्ने अपेक्षा थियो । तर वहाँहरु मान्नुभएन ।’ विद्यालयको प्राङ्गणमा हुने पोखरा महोत्सवले माघ १ गतेदेखि ७ गतेसम्म हुने विद्यालयको जाडो विदालाई दाउ छोप्नुपर्छ । ‘हामीलाई अरुजस्तो सजिलो छैन । अमरसिंह स्कुलको चौरमा महोत्सव गर्नुपर्छ, क्लवका महासचिव राजु श्रेष्ठले भने–यो हाम्रो नियमित क्यालेण्डर हो । अर्को महोत्सवको मिति हामीसँग समन्वय गरेर तय भएको होईन ।’ महोत्सवमा यति मात्रै भएन । महोत्सवको राजनीतिक गन्ध पनि छर्लङ्गै देखिन्थ्यो । औद्योगिक ब्यापार मेलामा काँग्रेसका अतिथीहरुको लाम थियो, उता पोखरा महोत्सवमा वाम गठबन्धन हावी थियो । ब्यापार मेला कानुनमन्त्री तथा काँग्रेस नेता यज्ञबहादुर थापाले उद्घाटन गर्दा पोखरा महोत्सवको उद्घाटन पूर्व स्वास्थ्यमन्त्री एवं् सांसद खगराज अधिकारीले गरे ।
पोखरा महोत्सवमा सांसदहरु दीपक कोइराला, राजीव पहारी, रामजी बराल, मनबहादुर गुरुङ सहभागी थिए । यद्यपी विन्दुकुमार थापा (नेका) पनि केहीबेरका लागि पुगे । तर ब्यापार मेलामा वाम गठबन्धनबाट विजयी सांसद कोही पनि सहभागी थिएनन् । त्यतिमा मात्रै सीमित भएन महोत्सवका गीत गाउने कलाकार पनि पार्टीगत रुपमा विभाजित जस्तै देखिए । केही बाहेक पोखरा महोत्सवमा गीत गाएका कलाकार वाम गठबन्धनमा खुलेरै लागेका छन् भने ब्यापार मेलामा पनि काँग्रेसलाई समर्थन गर्ने कलाकारको बोलवाला रह्यो । पोखरा महोत्सवमा प्रजापति पराजुलीले सांस्कृतिक कार्यक्रमको नेतृत्व गरे भने ब्यापार मेलामा चोलेन्द्र पौडेलले । पौडेल सात बर्ष लगातार पोखरा महोत्सवमा कार्यक्रम सञ्चालन गर्दै कलाकार हुन् भने क्लवका आजिवन सदस्य समेत । आयोजकहरु चाहीं यो संयोग मात्रै भएको प्रष्टिकरण दिन्छन् । महोत्सव मिति देखि अतिथी चयन र कार्यक्रम सञ्चालनसम्म राजनीतिक झुकाव विभिन्न हिसावले प्रष्टै देखिन्थ्यो । कार्यक्रमका दर्शकहरुले पनि राजनीतिक रुपमा महोत्सवलाई अनुमान लगाईरहेका थिए । आगामी दिनमा सबै कुरा परिमार्जन हुनुपर्ने उनीहरुको सुझाव छ ।