पोखराका भद्दा आइल्यान्ड भत्काईँदै

पोखरा, असोज २१ ।
नगर क्षेत्रका व्यस्त सडकबीचमा रहेका भद्दा आइल्यान्ड भत्काउने क्रम चलेको छ । पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ । अमर सिंह, मुस्ताङ चोक, बिरौटा, चिप्लेढुंगा लगायत चोकका सालिक समेत भत्काउने तयारी भइरहेको छ ।
भत्काइएका यस्ता भद्दा आइल्यान्डमा सालिक फेरि राख्ने प्रशासनको सहमतिप्रति त्यसको चर्को विरोध समेत हुन थालेको छ । अहिले हटाएका ठाउँमा पुन सालिक राख्ने कुरा यहाँका राजनीतिक दल, नागरिक अगुवा र पोखराको वृहत विकास चाहने जोसुकैले पनि समर्थन नगर्ने देखिएको छ ।
मानव अधिकारकर्मी एवं नागरिक आगुवा टेकनाथ बरालले हटाइएका सालिक फेरि त्यहीं राख्ने सहमति आफूलाई मन नपरेका बताए । सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर एउटा छुट्टै पार्कमा यस्ता सालिकहरु राख्ने योजनामा जान उनले महानगरलाई सुझाव दिएका छन् । विभिन्न जाति र समुदायले आफ्नो भन्दै त्यसप्रतिको लगाव देखाइरहेका बेला उनीहरुलाई समेत यस विषयमा बुझाएर काम गर्न उनको सुझाव छ ।
नागरिक आन्दोलनका अगुवा अधिवक्ता सुरेन्द्र थापामगरले राज्यले सहिदको सम्मान गर्नुपर्ने बताए । दुईवटा चोकमा रहेका सालिकमात्र भत्काउँदा आफ्नो समुदायकालाई मात्र तारोमा पारेको अनुभुति मगर समुदायमा परेको उनले बताए ।
लखनचोकमा पुन सालिक निर्माण गर्ने सहमति अनुरुप नै भत्काइएकामा केहीले राजनीतिक स्वार्थ देखाउँदै भड्काउन खोजेको देख्दा आफू अचम्मित भएको उनले सुनाए । भत्काउने र सम्मान नगर्ने कुरा स्वीकार्य नहुँने उनको प्रष्टोक्ति छ ।
उनले महानगरले छुट्टै पार्क बनाएर सम्मान गर्ने अवस्था आए स्वागत गर्ने बताए । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले भत्काइएको सालिक पुनस्थापित गर्दा जटिलता आउने तर्फ सचेत गराएका छन् । ‘हिजो कसैको हटाएर राखिएको हो,’ उनले भने, ‘अहिले भत्काएर फेरि बनाउँदा पहिलेकाले पनि बाहना पाउँछन्, त्यसैले छुट्टै पार्क बनाएर व्यवस्थापनमा लाग्दा राम्रो हुन्छ ।’
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफ्नो पनि चाहना छुट्टै पार्क बनाएर त्यसैमा सबैको सालिक राख्ने नै रहेको बताए । सबैको सहमति जुट्यो भने त्यो निर्णमा पुग्न सकिने उनले सुनाए । जिसीले यसका लागि आफूले छिट्टै सर्वपक्षीय बैठक डाक्ने समेत जानकारी दिए ।
सडक विभागअन्तर्गत ‘रोड एन्ड ट्राफिक युनिट’ले पृथ्वीचोकको आइल्याण्ड भद्दा र ठूलो भएकाले यसलाई ४ मिटरमा सीमित गरेमात्र ट्राफिक व्यवस्थापन सहज हुने निश्कर्षसहितको प्रतिवेदन बुझाएपछि महानगरपालिका र सरोकारवाला निकायले आइल्याण्ड भत्काएका हुन् ।