पोखराका फ्याक्ट्रीमै म्याद गुज्रिएका दुर्गन्धित मासु, १६ सय किलो जफत

पोखरा, भदौ ७ ।
पोखराका मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुर्गन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न ठाउँमा मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा दुर्गन्धित मासु फेला परेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को फेमली मिट प्रोडक्टमा बुधबार अनुगमन गर्दा करिव ९ सय किलो आइसच्याम्बरमा राखिका चिकन र बफ मासु दुर्गन्धीत अवस्थामा फेला परेको अनुगमन समितिका सदस्य तथा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइरालाले बताए । दुर्गन्धीत अवस्थमा मासु राखिएको देखेपछि अनुगमन टोलीले मासु जफत गरेको छ ।

त्यसै गरि मंगलबार पोखरा १७ बिरौटामा गरिएको अनुगमनमा पनि मिति सकिएका मासु भेटिएका छन् । फेवा मिट प्रोडक्ट प्रालि र पोखरा फिष्टेल कोल्ड स्टोर प्रालिमा मिति नाघेका र लेबल समेत नलागेका मासु फेला परेको उनले बताए ।

फेवा मिट प्रोडक्ट प्रालिबाट एक सय र पोखरा फिष्टेल कोल्ड स्टोर प्रालिमा ५ सय किलो मासु जफत गरि नष्ट गरिएको उनले बताए । जिल्ला अनुगमन टोलीका संयोजक कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सहितको टोलीले अनुगमन गरेको थियो ।