पोखराका फुटपाथमा पार्किङ निषेध, एकैदिन ४० मोटरसाईकल प्रहरीको नियन्त्रणमा

प्रकाश ढकाल
पोखरा, माघ १० ।
ट्राफिक प्रहरी कास्कीले सडक पेटी अवरोध गरी पार्किङ गरिएका मोटरसाईकल उठाएको छ । पैदलयात्रुलाई हिडडुल गर्न गाह्रो भएको भन्दै महानगरसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले निर्देशन गरेपछि ट्राफिक प्रहरीले त्यस्ता मोटरसाईकल उठाएर लगेको हो । मंगलबार मात्रै ४० वटा मोटरसाईकल जम्मा भएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका मोटरसाईकललाई सम्झाई बुझाई छाड्ने प्रहरी बताउँछ । कास्कीका प्रहरी प्रमुख अशोक सिंहले ट्राफिक ब्यवस्थापन अन्तर्गत नै मोटरसाईकल नियन्त्रणमा लिएको बताए । उनले फुटपाथ कब्जा गरेर गरिएको अवैध ब्यापार पनि बन्द हुनुपर्ने बताएका छन् । ‘पहिलेको फुटपाथ ब्यापारी हटाएर सडकमा ब्यापार निषेध गरिएको पोखरामा अहिले ह्वात्तै बढेका छन्, उनले भने–हामीले महानगरसँगको समन्वयमा फुटपाथ क्लियर थालेका हौं । हामीले अवरोध गर्न लागेका होईनौं ।’
फुटपाथ क्लियर भन्दै घरअगाडीको मोटरसाईकल लगेको भन्दै ब्यापारीहरुले चाहीँ त्यसको विरोध गरेका छन् । उचित विकल्प नदिई अवरोध गर्न नपाईने भन्दै उनीहरु तत्काल विकल्प नदिए आन्दोनलमा जाने बताउँछन् । ‘लाखौं भाडा तिरेर ब्यापार गरेका छौं । पसल अगाडी ग्राहकले मोटरसाईकल रोक्छन्, उनीहरुले भने–यसरी प्रहरीले मोटरसाईकल उठाईदिने हो भने हाम्रो ब्यापार चौपट हुन्छ । विकल्प चाहियो ।’
महानगरले चाहीँ फुटपाथ ब्यवस्थापनका लागि सहकार्य गरिएको बताएको छ । महानगरको सिर्जनाचोक स्थित भवनमा रहेको अन्डरग्राउण्ड पार्किङ खुला गरेर पार्किङको ब्यवस्था मिलाउने मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए । ‘फुटपाथको पार्किङले महानगरको सौन्दर्य नै गुमाईसक्यो । फुटपाथ क्लियर गर्ने महानगरको अभियान हो, उनले भने–नागरिकको सहजताका लागि आजैदेखि सिर्जनाचोकको अन्डरग्राउण्ड पार्किङ सर्वसाधारणका लागि खुला गरिनेछ ।’ यस्तै गणेशमान मार्गको पुर्वपट्टिको बाटो पनि खुला गर्ने निर्णय भैसकेको उनले बताए ।