पोखराका पसलमा नक्कली चुईँगम

पोखरा, असोज ३० ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शिवचोकको एक डिलरबाट नक्कली चुइँगम नियन्त्रणमा लिएको छ । प्रफेटी भ्यान मेल्ले इन्डिया प्रालिले उत्पादन गर्दै आएको सेन्टर फ्रट र सेन्टर फ्रेसको हुबहु नक्कल गरी सुनसरीको एक कम्पनीले सेन्टर फिल्जको नाम र स्टाइलको चुइँगम उत्पादन गरी पोखरामा बेच्दै आएको थियो ।
उस्तै देखिने तर नाममा मात्र केही फरक गरेपछि सुनसरीको दुहवी ४ मा रहेको प्रफेक्ट फुड प्रालिविरुद्ध उजुरी परेपछि बन्द गरिएको हो । बन्द भए पनि पोखरामा एक डिलरले बेच्दै आएको थियो । त्यो खबर पाएपछि कम्पनीका प्रतिनिधिसहित पोखरा आएर प्रहरीलाई खबर गरेपछि प्रहरीले डिलरबाट ८७ वटा वट्टा नियन्त्रणमा लिएको हो ।
उनीहरुले सेन्टर फिल्ज भनेर नाम दिई अरु आफ्नो कम्पनीको सबै कुरा चोरेको आरोप प्रफेटी भ्यान मेल्ले इन्डिया प्रालिका कानुनी सल्लाहकार आनन्द तिवारीले बताए । ‘देख्दा उस्तै देखिन्छ, चुइँगमको नाम त्यो पनि पछाडिको मात्र फरक छ अरु सबै हाम्रौ कम्पनीको चोरेको छ,’ उनले भने, ‘त्यो नक्कली स्वास्थ्यको हिसाबबाट पनि खतरा देखिएको छ ।’ त्यो कम्पनीले नक्कली सेन्टर फिल्ज नाम दिएर निकालेको उनले बताए ।
आफ्नो कम्पनीको चुइगमसँग मिल्ने नक्कली उत्पादनको लेआउट, अक्षर, रंग संयोजन, तस्बिर र डिभाइस, लगायत अन्य विशेषताहरु पिएमभी इन्डियाको उत्पादन हुबहु मिलेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
आफ्नो कम्पनीसँग मिल्ने गरी उत्पादन बिक्री गरेर बजारमा उपभोत्ता तथा सर्वसाधारणलाई झुक्याएको भनि प्रालिले दुहबी इलाका प्रहरी कार्यालयमा गत साउन १० गते उजुरी दिएको उनले बताए । त्यसपछि कम्पनी बन्द गराएको थियो ।
नेपालमा प्रतिलिपि अधिकारको उल्लघन गरेको अभियोगमा कम्पनीलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले बताएको छ ।