पोखराका नगर बस आजपनि ठप्प

पोखरा, माघ २४ ।
पोखराका सार्वजनिक यातायात आजपनि ठप्प छन् । नेविसंघ नेताको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि नगर बस सञ्चालनमा अवरोध समेत गरेका छन् । उनीहरुले दोषीमाथी कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै मंगलबार दिनभरी पिएन क्याम्पस गेटमा प्रदर्शन गरे । बुधबार पनि कुनै सवारी चल्न नदिने नेविसंघका नेता समित केसी बताउँछन् । समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय कास्की, पीडित र पीडक पक्षबीच बार्ता हुँदैछ ।
कास्की प्रहरीको आग्रहमा विद्यार्थीहरु केही संयमित भएपनि प्रदर्शन भने नरोकिने केसीले बताए । सोमबार साँझ नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको नगरबसले किचेर मृत्यु भएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । सार्वजनिक सवारी नचल्दा यात्रुहरु भने समस्यामा परेका छन् ।