पोखराका ताल–मान्छेका काल, बर्षेनी डुवाउँछ मान्छे

पोखरा, भदौ २४ ।
आजभन्दा ४० बर्षअघि पोखराको फेवातालमा एकैपटक १९ जनाको मृत्यु भयो । २०१८ सालमा डुंगा पल्टिएर घाँसदाउरा गर्न हिडेका १९ जना स्थानीयको एकै चिहान भयो । २०४३ सालमा वनभोज खाएर फर्किँदै गरेका १८ जनाको मृत्यु डुंगाकै कारण भयो ।

त्यसबीचमा पनि धेरैको मृत्यु डुंगा पल्टिएर भएको छ । २०६१ सालमा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । २०७३ सालमा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भएको छ ।

शनिवार उस्तै ठूलो र्दुघटना थपियो । बेगनासतालमा डुंगा पल्टिएर २ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । हराईरहेकाहरु बाँच्ने सम्भावना लगभग सकिएको छ । यद्यपी नभेट्ने बेलासम्म यसै भन्न सकिने अवस्था छैन ।

एकिन तथ्यांक नभएपनि दुईवटा तालमा मात्रै १ सय भन्दा बढीको मृत्यु भैसकेको छ । बर्षेनी केही मान्छेहरु तालमा डुब्छन् । केही पौडिएर बाँच्छन् भने कोही चाहीँ तालभित्रै बेपत्ता भएका घटनाहरुपनि छन् ।

कहिलेकाही प्राकृतिक भवितब्यका कारण डुंगा पल्टिभएपनि धेरै दुर्घटना मान्छेकै लापरबाहीका कारण भएका छन् । शनिबारको घटना पनि आफ्नै लापरबाहीका कारण भएको हो । पोखराका फेवा र बेगनासतालमा डुंगा शयर गर्दा लाईफ ज्याकेट अनिवार्य छ । तर अहिलेसम्म जति घटना भएका छन्, यी घटनाहरु लाईफ ज्याकेट नभएकै कारण भएका छन् । संयोग मान्नुपर्छ लाईफ ज्याकेट लगाएर डुंगा शयर गर्दा दुर्घटना पनि खासै भएका छैनन् । यदी भैहाल्यो भने पनि पौडिएर बाँच्न सक्छन् ।

धेरै पर्यटक र स्थानीयको पनि मृत्यु हुन थालेपछि ६ बर्षअघि तालमा अनिवार्य लाईफ ज्याकेट लगाउनुपर्ने नियम ल्याईयो । तर त्यो नियमको परिपालना पनि खासै भएको छैन । डुंगा सञ्चालकहरु पनि यात्रुलाई सचेत गराउँदैनन् भने यात्रुहरु पनि खोजेर लाईफ ज्याकेट लगाउँदैनन् । अर्को कुरा पोखराका तालहरुमा हुने दुर्घटनापछिको उद्धार चुस्त छैन । केही सुरक्षाकर्मीहरु तालमा डुबेकाहरुलाई उद्धार गर्नकै लागि बसेपनि उनीहरुलाई सुचना आईपुग्नै समय लाग्छ ।-पिसपाेखराकाे सहयाेगमा