पोखराका चोक–शालिकसँग किन डरायो महानगर ?

प्रकाश ढकाल
पोखरा, कार्तिक २६ ।
अघिल्लो बर्षको असोज महिनामा पोखरा बागलुङ सडकखण्डमा पर्ने जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक सहित चोकको आइल्याण्ड हटाईयो । शालिक सडक डिभिजन कार्यालयमा राखिएको छ । आइल्याण्ड हटाएपछि चोकमा अहिले नयाँ डोम राखिएको छ । त्यसैमा बसेर ट्राफिक प्रहरीले सवारी साधनलाई आउजाउ गर्न बाटो देखाउँछन् । चोकमा जताबाट छिरेपनि अगाडीको दृष्य सजिलै देखिन्छ ।

सडकमा गाडीको जाम धेरै हुन थालेपछि पोखरा महानगरपालिकाले चोकमा रहेका आइल्याण्डको आकार घटाउने अभियान सुरु गरेको हो । स्मार्ट चोक वनाउने भन्दै एक बर्षको अवधिमा महानगरले चारवटा मुख्य चोकको आइल्याण्ड घटाएको छ । अघिल्लो बर्षको भदौ मसान्तदेखि थालिएको अभियान अन्तर्गत जीरो किलोमिटर सहित पृथ्वीचोक, अमरसिंह चोक र विरौटा चोकको आइल्याण्ड सानो पारिएको हो ।

अघिल्लो बर्षको असोज पहिलो साता भत्काईएको पृथ्वीचोकको आइल्याण्ड चाहीँ अहिले पनि अस्तब्यस्त छ । आइल्याण्डसँगै हटाईएको प्रथम शहीद लखन थापाको शालिक पनि केही जातिय समूदायको दवाव पछि पुनः निर्माण गरियो । १८ लाख रुपैयाँमा निर्माण भएको शालिक एकबर्षसम्म पनि सिंगारिएको छैन । न त आइल्याण्ड राम्रो बनेको छ । असोजमै भत्काईएको अमरसिंहचोकको सुन्दर आइल्याण्ड ब्यवस्थित भएको छैन । स्मार्ट बनाउनका लागि भत्काईएका पोखराका आइल्याण्डहरु अहिले झनै कुरुप देखिएका छन् । एकबर्षपछि महानगरले पुनः विरौटाचोकको आइल्याण्डमा डोजर चलायो । तर त्यहाँको शालिक भत्काईएन । विरौटा चोकमा गुरुङ जातिका संस्कृति झल्किने शालिक छन् । शालिकलाई त्यहीँ राख्ने र शालिकसम्म पुग्न सिँढी निर्माण गर्ने सहमति पछि आइल्याण्ड भत्काईएको महानगर श्रोत बताउँछ । चोकमा राखिएका शालिकहरु कतै हटाउने र कतै छोड्ने गर्दा पोखरा महानगरले राजनीति र जातियताका आधारमा शालिकमाथी नै विभेद गरेको गुनासो अगुवाहरुले गर्न थालेका छन् ।

‘एउटै काममा पनि यति धेरै विभेद गर्नु हुँदैन । राजनीतिक पूर्वाग्रहमा काम गर्नु महानगरको गैर जिम्मेवारी हो, पोखराका नागरिक अगुवा रामबहादुर पौडेल भन्छन्–चाहे पृथ्वीचोक होस्, चाहे विरौटा चोक होस् सामाजिक न्यायका आधारमा काम गर्नुपर्छ । सबै शालिक हटाएर पार्कमा लगेर राख्नुपर्छ ।’ सबैलाई समान ब्यवहार गर्न उनको आग्रह छ । महानगरले नगरभित्रका शालिकलाई एक ठाउँमा राखेर शहीद तथा विभुति पार्क निर्माण गर्न सराङकोट स्थित जामुनाबोटमा जग्गा खोजी गरेर डिपिआर तयार गरिसकेको छ ।  यसैका लागि हाल १ करोड रुपैयाँ विनियोजन समेत भैसकेको छ । महागरको यो अभियान पूरा हुनेमा धेरैको शंका छ । पोखरालाई नजिकबाट हेरिरहेका विश्व सिग्देल चोकमा भएको विभेदप्रति प्रतिपक्षी र अगुवाहरुको दोष देखाउँछन् । ‘विभेद भएको छ भन्ने सबैलाई थाहा भैसकेको कुरा हो । यसमा महानगरको कमजोरी पक्कै छ, उनले भने–तर विभेद सहनु सबैभन्दा ठूलो गल्ती हो । यहाँका अगुवा र महानगरभित्रका प्रतिपक्षीहरु यसका दोषी छन् ।’

महानगरका मेयर मानबहादुर जिसी चाहीँ उपयुक्त ठाउँ तयार गरेर शालिक हटाउने बताउँछन् । सराङकोटमा ५७ रोपनी जग्गा खोजेर डिपिआर समेत तयार भैसकेको छ । ‘डिपिआर तयार भैसक्यो । पैसा पनि छुट्टिएको छ, उनले भने–शहीद र विभुतिलाई फरक ब्लक बनाएर सुन्दर पार्क निर्माण गर्ने हो । यो बर्षभित्रै ब्लक छुट्याउने काम हुन्छ ।’

सबै चोकमा रहेका शालिक हटाउने विषयमा सम्बन्धित पक्षसँग केही चरणमा कुराकानी भैसकेकोले उपयुक्त विकल्प दिएर स्मार्ट चोक निर्माण गरिने उनको भनाई छ । ‘चोकलाई स्मार्ट बनाउने र शहरलाई सुन्दर बनाउन हामी लागिरहेका छौं, उनी भन्छन्–यो बर्ष पार्क निर्माणको काम थालनी हुन्छ । ब्यवस्थित बनाउँदै पर्यटकलाई घुम्ने ठाउँ बनाउने गरि काम हुन्छ ।’चोकमा अब्यवस्थित आइल्याण्डका कारण एकातिर ट्राफिक प्रहरीलाई सवारी पास गराउन समस्या भैरहेको छ भने गाडीको जाम पनि उत्तिकै बढिरहेको छ । भत्काएर समयमा नबनाए दुर्घटना बढ्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायव निरीक्षक शिव थापाले बताए ।

‘आइल्याण्ड घटाउनु राम्रो हो । तर भत्काएर त्यतिकै छोड्दा झन् दुर्घटना बढ्छ, उनले भने–धुलोका कारण मानवीय स्वास्थ्यमा पनि जटिल समस्या भैरहेको छ । आइल्याण्डलाई तुरुन्त ब्यवस्थित गर्नुपर्छ ।’ पोखरामा अझै दर्जनभन्दा बढी चोकहरुमा आइल्याण्ड छन् । सबै चोकहरुलाई ब्यवस्थित गर्दै लैजाने महानगरले जनाएको छ ।