पोखराका अस्पताल–हृदयघातका विरामीलाई ७ घण्टा घुमाईयो, उपचार भएन

पोखरा, भदौ २८ ।
अस्पतालले बिरामी बचाउने प्रयास गर्दा गर्दै कतिपयको ज्यान जान्छ । यो अलग कुरा हो । तर, अस्पतालकै लापरबाहीका कारण बिरामीको ज्यान गयो भने त्यो अक्षम्य कुरा हो । अस्पतालको धर्म र चिकित्सकका कर्ममा यो पर्दैन । प्रयास गर्दा गर्दै प्राविधिक कारणले नसक्नु बेग्लै कुरा ।

पोखरामा एक पछि अर्को घटनाले सानो समस्या भएपनि पोखराको अस्पताल छाडेर काठमाण्डौ नै जानु बेस भन्ने अवस्था सिर्जना भइसकेको छ । गत साउन दोस्रो साता सिटि स्क्यान र एमआरआइका कारण दुर्घटनाका घाईते पोखरा घुमेको घुम्यै भए । अहिले आइसियुको बेड छैन भन्दै सात घण्टासम्म हर्ट अट्याक लक्षण देखिएका बिरामी पोखराका अस्पताल घुम्नु प¥यो । एम्बुलेन्स ३ पटक बोलाउनुपरेको छ भने केही सीप नलागेर ७ घण्टा पछि काठमाण्डौ कुदाउनुप¥यो ।

छिमेकी आफन्त फोटो पत्रकार मनि सरब्जा तमुका अनुसार पोखरा ५ मालेपाटन निवासी बसन्त थापा मगरलाई मंगलबार राति १ बजे अचानक हृदयघात भयो । तुरुन्त ट्याक्सी बोलाइयो । ४२ वर्षीय उनको तौल ११० किलो छ । ट्याक्सीमा उनी अटेनन् । सिद्धार्थ क्लबको एम्बुलेन्स बोलाइयो । त्यसपछि गण्डकी मेडिकल कलेज दगुराइयो । सिटी स्क्यान गर्ने स्टाफ नै आइदिएनन् ।

त्यहाँ आइसियू बेड छैन भनेपछि मनिपाल अस्पताल लगियो । मनिपालमा सिटि स्क्यान बिग्रिएको भनेपछि पुनः एम्बुलेन्स बोलाएर गैह्रापाटन स्थित फिस्टेल हस्पिटल पु¥याइयो । सुरुमा सिटी स्क्यान गर्न मानेन । मनिपालबाट रेफर भनेपछि बल्ल फिस्टेलमा सिटि स्क्यान भयो । तर बेड छैन, राख्न सक्दैनौं भने । पोखराको फेवासिटी लगायतका अस्पतालमा बुझ्ने काम भयो तर सबैले बेड छैन भने ।

राति २ बजेदेखि यसरी दगुरादगुर गर्दा समेत यहाँ सेवा दिन्छौं भनेर खुलेका अस्पतालको कारण पोखरामा राख्न सक्ने अवस्था भएन । विन्दवासिनीको एम्बुलेन्समा १२ हजार खर्चेर काठमाण्डौ लगियो । छिमेकीका अनुसार अहिले उनको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।

यसअघि, साउन दोस्रो साता अस्पतालमा सामान्य प्राविधिक मेसिनहरु नहुँदा एउटा बिरामी ४ वटा अस्पताल फेर्न बाध्य भए । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेपछि घाईते भएका स्याङजाका एन्फा पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचन उपचारका लागि पोखरा ल्याईयो ।

सुरुमा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा पु¥याईयो, कम्प्युटरले काम नगरेको प्रतिक्रिया दिएपछि उनलाई मनिपाल पु¥याईयो । मनिपालमा पनि सिटी स्क्यान गर्ने मेसिनले काम नगरेको भनेपछि फिस्टेल अस्पताल लगियो । सिटी स्क्यान भएपनि एमआरआई गर्ने मेसिन नभएपछि एमआरआईका लागि पोखरा एमआरआई एण्ड डाईगोनोस्टिक सेन्टर लगिएको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसक्यो । यति ठूलो शहरमा यति धेरै अस्पतालहरु छन् । तर पूर्ण प्रविधि कुनैमा पनि देखिएन । आइसियू बेड छैन भन्ने प्रतिक्रिया दिने अस्पतालहरु हर्ट अट्याक जस्तो आकस्मिक उपचार गर्नुपर्ने बिरामी पहिचान गर्न सक्दैन । यहाँका सरकार, सरोकारवाला अस्पताल सबैले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ । पोखराका हस्पिटलमा साँच्चै आइसियू बेड भरिएको कि ? हर्ट अट्याक जस्तो गम्भिर प्रकृतिका बिरामी उपचार गर्न अस्पताल हच्किएको ? यसतर्फ समेत सोच्नुपर्ने छ ।–गण्डक न्यूजका लागि रञ्जन अधिकारीले खवर लेखेका हुन् ।