पेट्रोलियम पदार्थको मुल्य घट्यो

पोखरा, चैत १९ ।
डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य घटेको छ । बुधबार रातीदेखि लागू हुनेगरी मुल्य घटाईएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटाएको छ । काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य ९६ प्रतिलिटर र डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य ८५ प्रतिलिटर हुने भएको छ ।

पोखरामा पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ ५० पैसा छ भने डिजेल र मट्टीतेलको ९४ रुपैयाँ ५० छ । त्यस्तै, हवाई उडानमा प्रयोग हुने आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर १५ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ० दशमलव ९५ ले घटाएको छ ।

आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य प्रतिलिटर ७५ र वाह्यतर्फ अमेरिकी डलर प्रतिकिलोलिटर ९ सय ५० कायम हुने भएको छ । गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गंगजुले निगमले बदमासी गरेको आरोप लगाए ।

‘अहिलेको अवस्थामा घटाउनुपर्ने ग्याँसमा हो । सवारी साधन चलाएको छैन । यसले कसलाई फाईदा भयो ?,’ उनी भन्छन्, ‘हामी चाहीँ देशको अवस्था अप्ठेरो नहोस भनेर स्टक राखेको छ । यसरी मनपरी मुल्य घटाइदिँदा ब्यवसायी मर्कामा पर्छन् ।’

यो मुल्य समायोजनले डेढ करोडभन्दा बढीको क्षति हुने उनले सुनाए । अरुबेला २ प्रतिशतमात्रै मुल्य तलमाथी गर्न पाउने ब्यवस्था भएपनि अहिले अस्वभाविक रुपमा घटाईएको गंगजुको गुनासो छ ।