पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट

पोखरा, असार १२ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल गर्दै उनले आवश्यक्ता र औचित्यताको आधारमा बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए ।

‘सरकारले सभासदहरुसँग योजना माग्ने । सभासदले पनि आफ्नो लेटरहेडमा लेखेर दिने । कि हामीले प्रतिशत छुट्याउँ । सभासद्ले ल्याएको योजनामा यति प्रतिशत, आफ्ना वरिपरीका मान्छेले ल्याएका यति प्रतिशत, कर्मचारीले ल्याएको यति प्रतिशत भनेर । नत्र सभासदले ल्याएको योजना प्राथमिकतामा परेनन् । बजेट छुट्टिएनन्,’ उनले भने । मनाङ, मुस्ताङ र म्याग्दी पछि कास्कीले सबैभन्दा कम बजेट पाएको उनले सुनाए । पोखरालाई राजधानीकै रुपमा विकास गर्न आवश्य संरचना तयार गर्नुपर्ने थापाको माग छ । यद्यपी बजेटमा उनको समर्थन छ ।

सांसद आशा कोइरालाले बजेट विनियोजन गर्दा सरकार गम्भीर नभएको गुनासो गरिन् । ‘भीमाद ८ र शुक्लागण्डकी ११ जोड्ने जरेबरमा बरखोला मोटरेवल पुल अहिले पनि छ । हामीले शुक्लागण्डकी १० र ११ जोड्ने क्याङदीखोलाको ज्याङलादी दोभानमा मोटरेवल पुल बनाउन प्रश्ताव ग¥यौं । तर बजेट विनियोजन हुँदा भीमाद ८ र शुक्लागण्डकी ११ को क्याङदीखोलामा मोटरेवल पुल भनेर लेखियो,’ उनले भनिन्, ‘क्याङदी खोला यो भुगोलमा कतैपनि जोडिँदैन । नाम र ठाउँ नै फरक पर्न गयो । यसलाई सच्याईयोस् ।’ केही सुझाव दिँदै उनले बजेटमा समर्थन जनाईन् । अधिकांश सत्तारुढ सांसदहरुले बजेटमा समर्थन जनाउँदै सुधार गर्न सुझाव दिए ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले बजेट मन्त्री र कर्मचारीको जिल्लामा केन्द्रीत भएको बताईन् । ‘हामीलाई त करायो करायो दक्षिणा हरायो भनेजस्तो छ । बारम्बार मन्त्रालय धाईयो, मन्त्रिज्यूहरुलाई पनि घचघच्याईयो । तर रिजल्ट सन्तोषजनक आएन,’ उनले भनिन्, ‘कतिपय जिल्लाहरुले विकास कार्यक्रममा गोल्ड मेडल हात पारे । कतिपय जिल्लालाई कास्यपदक ल्याउन पनि हम्मेहम्मे परेको छ ।’ मन्त्रिले सांसदलाई झुक्याएर अन्यत्रै पैसा विनियोजन गरेको उनको आरोप छ । ‘यो बर्ष खानेपानी बर्ष हो भनेर मन्त्रि ज्यूको आसय थियो । मैले पनि त्यही अनुसार खानेपानीका योजना पेस गरें,’ उनले अघि भनिन्, ‘तर मैले पेस गरेका योजना पर्दै परेनन् ।’

प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले रातो कितावमाथी नै खेद ब्यक्त गरे । बजेट बाँडफाँटमा राजनीति गरिएको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा आँफूले प्रश्ताव गरेको एउटा पनि योजना नपरेको बताए । ‘यसपालि मैले मेरो ६ वटै वडामा गए वडाध्यक्ष, सदस्यहरुको रोहवरमा सर्वदलीय बैठक बसेर त्यहाँको आवश्यक्ता र सम्भावना मध्येका २६ वटा योजनाहरु भौतिक पूर्वाधार मन्त्रालयमा पेस गरेको थिएँ । तिमध्ये कुनैपनि (एउटा मात्र पनि) योजना परेका छैनन् । मैले यो कुरा बडो दुखका साथ भन्नुपरेको छ,’ उनले भने, ‘यो रातो कितावको म र मेरो पार्टी अनि कास्की निर्वाचन क्षेत्र २ (२) का जनताको तर्फबाट खेद प्रकट गर्दछु । घोर विरोध गर्दछु ।’

सरकारले तानासाही प्रबृत्ति देखाएको उनको तर्क छ । ‘प्रदेश सरकारले यसपालि बजेटमा तानाशाही प्रबृत्ति देखाएको छ । दुई तिहाईको दम्भ देखाएको छ । सरकार पार्टीभन्दा माथी उठ्नुपर्छ, सरकार सबैको हो । नेपाल कम्युनिष्ट पार्टीको मात्र कदापी होईन,’ उनी भन्छन्, ‘हामीले के मन्त्री ज्यूको घरको पैसा मागेका हौं र ? राज्यको ढुकुटी कोषमा सबैको योगदान छैन र ? हामीले मन्त्री ज्यूसँग भीख मागेको हो र ? मेरो आफ्नो घर बनाउन रकम मागेको त अवश्य होईन । किन यत्रो असमान ब्यवहार ? अनि यत्रो भेदभाव ?’

अर्का सांसद प्रकाशचन्द्र दवाडीले पनि सरकारको कटाक्ष गरे । ‘सरसर्ती बजेट हेरें । कार्यक्रम राम्रै छन् तर हामीले सिफारिस गरेका ठाउँमा भन्दा मन्त्री ज्यूले आफ्नो गोजीबाट झिकेर कार्यक्रम बनाउनु भएछ । आफ्ना नजिकका ठाउँमा ठूलो बजेट र अरुको निर्वाचन क्षेत्रमा सानो बजेट । यही हो सामानुपातिक विकास ?,’ उनले भने, ‘सरकारले जनताको चित्कार सुनेन सभामुख महोदय । त्यसैले यो सरकार जनताको सरकार होईन, कार्यकर्ताको पार्टी कार्यालय जस्तो भयो ।’ उनले चालू बर्षमै खर्च गर्न नसकेका क्षेत्रमा पुनः मोटो रकम विनियोजन गर्नु गलत भएको बताए । छलफलमा चिन्ताबहादुर घले, इन्द्रधारा विष्ट, सरिता गुरुङ, डोवाटे विश्वकर्मा, दिलमाया रोका लगायतले बजेटबारे धारणा राखे ।