पृथ्वी समितिको दादागिरी, दुर्घटनाका घाईते छोडेर पिकनिकमा

पोखरा, पुस ८ ।
शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा बस दुर्घटना भयो । दुर्घटनामा निर्वाचित जनप्रतिनिधीको मृत्यु भयो भने बसमा सवार सबै घाईते छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सामान्यतः आफ्नो समितिको बस दुर्घटना हुँदा समितिका पदाधिकारी वा जिम्मेवार ब्यक्ति पीडित पक्षसँग बसेर थप उपचारको बाटो खोलिदिनुपर्छ । यसको मतलव गाडी दुर्घटनामा घाईतेको उपचार जिम्मा बस समितिको हो, यदी उक्त बस कुनै समितिमा आवद्ध छ भने ।
स्तरीय सेवा दिने भन्दै पृथ्वीले देशैभरी हौवा पिटेको छ । हरेक जिल्लामा स्थानीय समिति छ, तर पृथ्वीले ति सडकहरुमा पनि सिण्डिकेट लाद्न नपाईने भन्दै आफ्नो समितिको गाडी चलाईरहेको छ । तर आफ्नो विपक्षमा कसैले गाडी चलाउन थाल्यो भने संस्थागत रुपमै विरोध जनाउन भ्याउँछ । यात्रुले पत्याउने ठाउँ पनि छ, पृथ्वीको सेवा अरु भन्दा राम्रो छ । पछिल्लो समय पृथ्वी समितिको बसहरु स्तरीय छन् पनि । तर समितिले दुर्घटनापछि पीडितको वेवास्ता गर्ने र घटनाप्रति गैरजिम्मेवार हुने परम्परा छ । शुक्रबार भएको दुर्घटनाबारे समितिले कुनैपनि सक्रियता देखाएन । पीडितहरु अस्पतालको आडमा बसेका छन् तर समितिको स्विकृति नभएकै कारण घाईतेले राम्रोसँग उपचार पाएका छैनन् । शुक्रबार घटना घटेपछि समस्या समाधामतिर लाग्नुपर्नेमा समिति हुल बाँधेर शनिबार दिनभरी धम्पुसमा पिकनिक खाएर बस्यो ।
‘समितिबाट नेक्लिजेन्स भएको स्विकार्छु । हामीले दुर्घटना संयोजक धर्म अर्याललाई बार्ताका लागि पठाएका थियौं, पीडित पक्षसँग कुरा गर्दै समितिका महासचिव योगेन्द्र केसीले भने–अर्याल जीले टुंग्याउनुभयो होला भन्ने बुझेर हामी ढुक्कसँग बस्यौं । अव समितिको बैठक बसेर कसरी जाने निर्णय गर्छौं ।’ समितिले खटाएको भनिएको दुर्घटना संयोजक अर्यालको फोन शनिवार दिनैभरी स्विच अफ थियो । ‘शुक्रबार दुर्घटना भएपछि शनिवारको कार्यक्रम रोक्नुपथ्र्यो । त्यो भएन कमसेकम १÷२ जना जिम्मेवार मान्छे त पठाउन सकिन्थ्यो, पीडित पक्षबाट गठित बार्ता समितिका संयोजक बृजमान गुरुङले भने– समितिका अध्यक्षजी (एन कुमार साइ) ले उल्टै जानेको गर भनेर फोन राख्नुभयो । यो समितिको जानाजान गरिएको गैर जिम्मेवारपन हो । यस्ता घटनाले सम्बन्ध राम्रो बनाउँदैन ।’
पीडितका तर्फबाट बार्ता गर्न ७ सदस्यीय समिति गठन भएको छ । पीडित पक्ष र समितिबीच शनिवार राती भएको बैठक विना निश्कर्ष टुंगिएको छ । आईतबार पुनः बैठक बस्ने गरी बैठक सकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कप्रसाद खत्रीले जानकारी दिए । पीडित पक्षले राखेको मागका बारेमा छलफल हुन थालेपछि बस समितिबाट बैठकमा सहभागी प्रतिनिधीले त्यसको अथोराईज्ड पर्सन आँफु नभएको बताएर बैठक एजेण्डा विहिन भएको पीडित वार्ता समितिका सदस्य प्रकाशमोहन खनालले जानकारी दिए । पीडित पक्षले मृतकका परिवारलाई कम्तिमा १० लाख दिनुपर्ने माग राखेका थिए । घटनापछि खसीबजार चोकमा ४ वटा बस तोडफोड भएको छ । बस पीडित पक्षले नै तोडफोड गरेको बसधनीहरुले बताएका छन् ।