पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भब्य स्वागत (फोटो र भिडियो हेर्नुस्)

पोखरा, पुस २ ।
पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आईपुगेका छन् । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा आईपुगेका हुन् । शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल सहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरे । पूर्व राजा शाह विमानस्थलदेखि विरौटा चोकसम्म पैदल हिडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए ।

उनलाई २१ किलोको मालाले स्वागत गरिएको थियो । पूर्व राजालाई फूल दिने क्रममा लडेर पदम सुब्बा गुरुङ घाईते भएका छन् । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ ।

श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ । विल्कुल निजी भ्रमणका लागि पोखरा आउन लागेका पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो । आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोली समेत काठमाण्डौंबाटै आएका हुन् । उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउटेन ग्लोरीमा बस्नेछन् ।