पूर्व अध्यक्षहरुले नै संघमा राजनीति गरे–अधिकारी प्यानल (विज्ञप्तीसहित)

पोखरा, असोज ४ ।
पोखरा उद्योग बाणिज्य संघमा चुनावी मिति नजिकिँदै गर्दा दुई पक्षबीच घोचपेच सुरु भएको छ । प्रतिश्पर्धामा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी छन् । दुवैले आ–आफ्नै प्यानल लिएर मत मागिरहेका छन् । एकले अर्को पक्षलाई राजनीति गरेको दावी दुवै पक्षको छ । तर राजनीतिक दल निकटका ब्यवसायीहरुले आफुँलाई सहयोग गरेको विज्ञप्ती सहितका समाचार दुवै पक्षले संचारमाध्यममा पठाईरहेका छन् । यही सन्दर्भमा बुधबार पोखरा उद्योग बाणिज्य संघका १० जना पूर्व अध्यक्षहरुले विगतको सहमति अधिकारीले तोडेको भन्दै प्रजुलाई अध्यक्ष बनाउन खुलेरै समर्थन सहित विज्ञप्ती जारी गरे ।

तर अधिकारी प्यानलले भने पूर्व अध्यक्षहरुको एकता पनि राजनीतिक भएको अरोप लगाएको छ । विहिबार अधिकारीले विज्ञप्ती जारी गरी पूर्व अध्यक्षहरुको योगदान अतुलनिय रहेको भन्दै यसकै भरमा राजनीति नगर्न सुझाएका छन् । ‘संघमा रहेर हाम्रा अग्रजहरुले पु¥याउनुभएको योगदानलाई हामीले भुल्न सक्दैनौं । यसलाई जोगाईराख्ने दायित्व हामीमाझ छ, विज्ञप्तीमा भनिएको छ–तर, स्मरण रहोस् १० जना पूर्व अध्यक्षले मात्रै पोखरा उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउनुभएको होइन । राजनीतिको आडमा निजी क्षेत्रलाई चलाउन खोज्ने केही पूर्व अध्यक्षहरुकै कारण संघ माथि प्रश्न चिन्हहरु खडा भएका छन् । पूर्व अध्यक्षहरुले संघभित्र गरेको राजनीति देख्दा मलाई निकै दुःख लागेको छ ।’

आफूलाई लक्षित गरी जारी गरेको विज्ञप्तीप्रति ध्यानाकर्षण भएको जनाउँदै अधिकारीले राजनीति र स्वार्थ भन्दा माथि उठेर अभिभावकीय जिम्मेवारी बहन गर्न पूर्व अध्यक्षहरुसँग आग्रह गरेका छन् ।