पूर्व अध्यक्षहरुको अपिल–अधिकारीले सहमति तोडे, प्रजुलाई अध्यक्ष बनाउनुपर्छ (विज्ञप्ती सहित)

पोखरा, असोज ३ ।
पोखरा उद्योग बाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरुले हालका महासचिव दामु अधिकारीले पूर्व सहमति तोडेको आरोप लगाएका छन् । बुधबार १० जना पूर्व अध्यक्षहरुले संयुक्त हस्ताक्षर सहित विज्ञप्ती जारी गरि ३२ औं महाधिवेशनमा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्ने सहमति भएको भन्दै अधिकारीले सहमति तोडेको बताएका हुन् ।

‘विगत केही समय यता पोखराकै जेठो संस्थालाई कमजोर बनाउन भूमिका विहिन गराउने काममा उद्योग, व्यापार, वाणिज्य संघको नाममा पार्टीको भातृ संगठनकै रुपमा लागिरहेको तथा आम व्यवसायीलाई विभाजीत गर्न गराउन विभिन्न नारा र बहाना सहित प्रयास गरिरहेको छ । स्वायत्त संस्थाको रुपमा रहेको यस संस्थालाई सरकारी निकायले समेत निर्लज्ज रुपमा ठाडो हस्तक्षेप समेतको प्रयास भएको कुरा सुन्नमा आउँदा हामी पूर्वअध्यक्षहरुलाई चिन्ता र चासो छ, विज्ञप्तीमा भनिएको छ–संस्थाका पूर्व अध्यक्षका हिसाबले यस संस्थाको गरिमा, प्रतिष्ठा र शान बचाइराख्नु हाम्रो पनि नैतिक दायित्व हो भन्ने हामीले ठानेका छौँ । राजनिती र स्वार्थ भन्दा माथि उठेर व्यवसायीको हितका लागि समर्पित यस संस्थामा सहमति र सहकार्य आवश्यक छ ।’ 

३१ औ महाधिवेशनमा पनि सहमति र सहकार्य भएको भन्दै उनीहरुले अहिले प्रजुलाई सर्वसम्मत अध्यक्ष बनाउन पहिले नै सहमति भैसकेको खुलाशा गरेका हुन् । ‘प्रजुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन बर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र वर्तमान महासचिवको सक्रियतामा लिखित सहमति भएको कुरा थाहा पाउँदा सहकार्य र सहमतीको परम्परा कायम रहेको हामीलाई विश्वास थियो । र सोही सहमतिमा सबैले समर्थन पनि गरेका थियौं, विज्ञप्तीमा लेखिएको छ–तर महासचिव ले नै सहमति विपरित उम्मेदवारी दिएकोले हामीलाई आश्चर्य लागेको छ । सहमति गरेर तोड्ने परम्परा संस्थाका लागि घातक कुरा हो र यस्तो प्रवृत्तिले निजी क्षेत्रको विश्वसनियता माथी प्रश्न समेत उठ्न सक्छ ।’

अझैपनि सहकार्य र सहमतिमै जोड दिन उनीहरुको आग्रह छ । ४ बुँदै विज्ञप्ती जारी गरेर उनीहरुले सरकारी कार्यालयबाट भएको हस्तक्षेपको विरोध गर्दै पूर्व सहमति कार्यान्वयनमा जोड दिएका छन् ।