पूर्वराजासँगै किन आए कमल थापा पोखरा ?
पोखरा, पुस ६ ।
५ दिनअघिदेखि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा छन् । निजी भ्रमणका लागि भनिएको उनको पोखरा आगमनलाई निकै चासोका साथ हेरिएको छ, नेपाली राजनीतिमा । केही राजनीतिकर्मीहरुसँग पनि पूर्व राजाले भेट गरिरहेका छन् । दोविल्लाको माउण्ट ग्लोरीमा बसिरहेका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र शिवसेना पार्टीका नेता तथा कार्यकर्ताहरुले साथ दिईरहेका छन् ।
पूर्व राजा पोखरा आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि पोखरा आईपुगेका छन् । उनको पोखरा आगमनले झनै क्लाईमेक्स थपेको छ । ‘हाम्रो पूर्व निर्धारित कार्यक्रम हो । वहाँको पनि पोखरा आउने कार्यक्रम रहेछ, कमल थापाले भने–यो संयोग मात्रै हो । कुनै योजना होईन ।’ अध्यक्ष थापाले शुक्रबार नै दोविल्ला पुगेर पूर्वराजासँग भेटिसकेका छन् । विहान ९ देखि सवा १० बजेसम्म भेटघाट भएको बताईएको छ ।
थापाले शुक्रबार नै पत्रकार सम्मेलन गरेर विगतमा जस्तो राजतन्त्रको मुद्धा आफ्नो पार्टीले नउठाएको स्पष्ट पारे । ‘विगतको जस्तो राजतन्त्रको कुरा गरेका हैनौं, उनले अघि भने–गणतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई पनि चित्त बुझ्ने सहमति र सहकार्यको राजसंस्था सहितको लोकतन्त्र कायम गर्न सकिन्छ भन्ने हाम्रो मुद्धा हो ।’ थापाले विहिबार पोखराको बुद्धचोक स्थित कान्तिपुर पार्टी प्यालेसमा ५ सय हाराहारीमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिए ।
पार्टीको आन्तरिक संगठन सुदृढीकरणसँगै राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा पनि छलफल भएको प्रशिक्षणमा सहभागी एक सदस्यले बताए । ‘ज्ञानेन्द्र शाहलाई नै फर्काउने कुरा स्पष्ट थिएन तर सार्वभौम, साझा नेतृत्वको रुपमा राजसंस्था ल्याउने कुरा खुलेरै बोल्नुभएको हो, ति सदस्यले भने–पार्टीले एजेण्डा नछोडेको र जनताले पनि राजसंस्था चाहेको कुरा कार्यकर्तामाझ राख्नुभयो ।’
राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलन र देशब्यापी जनजागर अभियानको तयारी गरिरहेको छ । फागुन ७ गतेदेखि जनदवाव कार्यक्रम गर्न लागिएको थापाले बताए ।
उता पूर्व राजा ज्ञानेन्द्र शाह पनि हिन्दु राष्ट्रकै पक्षमा छन् । यद्यपी उनले आफ्नो र राजसंस्थाको बिषयमा चुईंक्क पनि बोलेका छैनन् । पहिले आफुँ नागरिक भएर बस्ने बताईरहेका पूर्वराजा लामो समयदेखि मौन छन् ।
पोखरामा उनलाई निकै भब्यताका साथ स्वागत गरियो । विभिन्न पार्टीका नेता कार्यकर्ता सहित सर्वसाधारण समेतलाई पूर्वराजाको स्वागतमा भ्याई नभ्याई थियो । उनको स्वागतमा गणतन्त्र विरुद्धको नाराबाजीले केही पक्षमा अझैपनि राजसंस्थाप्रतिको आस्था जीवित देखिन्थ्यो । त्यसो त राजसंस्थाको पक्षमा खुलेरै नाराबाजी पनि भैरहेको थियो ।
पूर्वराजाको पोखरा भ्रमणका कार्यक्रम तालिका अहिलेसम्म पनि सार्वजनिक भएको छैन । तर गोप्य रुपमा उनी भेटघाटनमै ब्यस्त रहेको श्रोत बताउँछ । ‘पूर्व राजा र कमल थापाको पोखरा आगमन संयोग भनिएपनि संयोग जस्तो चाहीँ देखिँदैन–राप्रपाकै नेताहरु भन्छन् ।’