पिएन झडप–प्रहरीको ज्यादती, विद्यार्थीको आक्रोश

प्रकाश ढकाल
पोखरा, माघ २४ ।
सोमबार साँझ सामान्य भनाभनपछि नगरबसले किचेर विद्यार्थी मारेपछि मंगलबार विहानैदेखि पोखराको बगर स्थित पिएन क्याम्पस गेट तनावपूर्ण रह्यो । विद्यार्थीहरुले आफ्नो साथीको मृत्यु भएपछि दुर्घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गरेका थिए । मृतक नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति समेत हुन् । उनको मृत्युको कारण खोजी गर्दै नेविसंघले सबै विद्यार्थी संघ संगठनको साथ लागेर प्रहरी प्रशासन र पीडक विरुद्ध नाराबाजी सहित प्रदर्शन गरे । विद्यार्थीको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी अर्को प्रदर्शन ग¥यो । केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा हुलेपछि आक्रोशित विद्यार्थीको भीडले बगरका विभिन्न ठाउँमा रोकिराखेका गाडीहरुमा तोडफोड गरे । दर्जनबढी गाडिको चावी नियन्त्रणमा लिए । त्यसपछि प्रहरी झनै क्रुर भयो र विद्यार्थीमाथी जाईलाग्यो । विद्यार्थीहरु भागेर गेटभित्र पसेपछि दुई पक्षबीच लामो समय ढुंगामुढा पनि भयो । विद्यार्थीले गेटभित्रबाट ढुंगा बर्साउँदा प्रहरीले त्यही ढुंगा टिपेर क्याम्पस गेट विद्यार्थीलाई हिर्कायो । यो क्रम लामो समय चल्यो । दुई पक्षको झडपमा धेरै घाईते भएका छन् ।
प्रहरीको तर्फबाट ५ जना घाईते छन् भने विद्यार्थी दुई दर्जन भन्दा बढी घाईते भएका छन् । घाईते भएका ईन्स्पेक्टर बसन्त शर्मा, हवल्दार यम प्रसाद तिवारी, जवान हरिप्रसाद शर्मा, बलराम वली र चन्द्रबहादुर वली सामान्य उपचार पछि काममा फर्किएका छन् । घाईते विद्यार्थीको तथ्याकं भने प्रहरीसँग छैन । प्रहरीले १६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थीको निरन्तर दवावपछि मात्रै नियन्त्रणमा रहेका विद्यार्थीहरु रिहा गरिएका हुन् । नेविसंघ नेताको निधनलाई लिएर बुधबार पनि पोखरामा सार्वजनिक सवारी साधन ठप्प हुने नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल बताउँछन् । मृत्युको बिषयमा प्रहरीले नजरअन्दाज गरेको भन्दै थप सशक्त भएर आन्दोल गर्ने उनले बताए । अर्का नेता समित केसीले बस ब्यवसायीको दादागिरीले पोखराको सार्वजनिक यातायात बदनाम भैरहेको गुनासो गरे । ‘बसमा ठक्कर खाएको मान्छेलाई ब्याक गरेर किच्ने अधिकार कसले दियो ? ड्राईभर भनेको मान्छे मार्ने लाईसेन्स होईन, आक्रोशित हुँदै उनले भने–घटनाको सत्यतथ्य छानवीन र आवश्यक कारबाही नभएसम्म आन्दोलन रोकिँदैन । छानवीन हुँदासम्म हामी संयमित हुन्छौं ।’ तनावलाई नियन्त्रण गर्न कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंह आँफै बगर पुगेका थिए । उनले घटनाबारे छानवीन भैरहेकाले विद्यार्थीलाई संयमित हुन आग्रह गरेका छन् । ‘दुर्घटना दुखद छ । हामी छानवीन गर्छौ, उनले भने–दोषीउपर कारबाही हुन्छ । विद्यार्थीहरु त्यतिबेलासम्म संयमित भैदिनुहोला ।’
मृतकका आफन्तले मंगलबार पनि लाश बुझेका छैनन् । पीडित र पीडक बीच बार्ता नमिलेपछि आफन्तले शव नबुझेका हुन् । पीडित पक्षले ५ लाखको रवैया देखाउँदै बस चालकले गरेको गल्ती क्षम्य नभएको भन्दै कडा कारबाहीको माग गरेका छन् । पोखरा बस ब्यवसायी समितिले चाहीँ वीमाको ५ लाख सहित किरिया खर्च ५० हजार दिने बताएको छ । तर पीडित पक्षले ५ लाखले नमान्ने प्रतिक्रिया दिए । ‘पैसामा मान्छेको मोल तौलिनु गलत हो । मान्छे मारेर ५ लाखमा उम्किन दिनुहुँदैन, पीडित परिवारका एक सदस्यले भने–हामीलाई पैसा भन्दा कानुनको चिन्ता ठूलो छ । दोषीमाथी कडा कारबाही होस् ।’ उनीहरुले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका कास्की प्रहरी प्रबक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । उजुरी माथी कारबाही भने सुरु भएको छैन । ‘गाडी र चालक सोमबार नै नियन्त्रणमा लिएका हौं । मंगलबार मात्रै उजुरी परेकाले छानवीन सुरु भैसकेको छ, उनले भने–सवारी ज्यान मुद्धामा म्याद थप गरेर कारबाही हुन्छ ।’ उनका अनुसार दोषीलाई कारबाही भने अदालती तजविजीका आधारमा हुने ब्यवस्था छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।