पिएनमा विद्यार्थीको अनसन तोडियो (के भयो सहमति ?)

प्रकाश ढकाल
पोखरा, माघ १९ ।
क्याम्पसको आर्थिक हिसाव किताव सार्वजनिक गर्ने सहमति भएपछि पिएन क्याम्पस पोखरामा अनसनरत विद्यार्थीहरुले अनसन तोडेका छन् । शुक्रबार त्रिवि प्रतिनिधीको रोहबरमा क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले फागुन १० गते विशेष कार्यक्रम गरेर हिसावकिताव सार्वजनिक गर्ने सहमति गरेका छन् । यो बाहेक विद्यार्थीले राखेका सबै माग क्रमबद्ध रुपमा पूरा गर्ने सहमति भएको छ । ६ बुँदे सहमति पत्रमा दुवै पक्षबाट हस्ताक्षर भएपछि क्याम्पस प्रमुख थापाले जुस खुवाएर विद्यार्थीहरुको अनसन तोडाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख थापाले माग सम्बोधनमा आँफु गम्भिर हुने बताए । ‘भाइहरुले राखेका माग वहाँको मात्रै होईन क्याम्पसकै थियो । हामीले नै यि मागहरु उठाउनुपथ्र्यो, उनले भने–विद्यार्थीहरुले माग राखिदिनुभयो हामी पनि खुशी छौं । अव सबै मिलेर सहमति कार्यान्वयन गर्नुपर्छ र आगामी दिनमा सँच्चिएर जानुपर्छ । म त्यसका लागि तयार छु ।’ उनले धेरै मागहरु अदालत र त्रिविसँग सम्बन्धित भएकाले समाधान खोज्न लामो समय लागेको प्रतिक्रिया दिए । ‘विद्यार्थीले उठाएका धेरै माग टियु र अदालतसँग जोडिएकाले मेरो बुताभन्दा बाहिर थियो । मैले गर्न सक्ने भए एकदिन पनि अनसन बस्ने अवस्था हुन्थेन, उनी भन्छन्–सबै विद्यार्थी युनियन र संगठनको बलले समस्याको निकास निस्किएको छ । सानो मागमा पनि लामो समय अनसन बस्ने अवस्था प्रति म दुखी छु ।’
बार्तामा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण प्रमुख गंगाबहादुर थापाले क्याम्पसको उन्नतीका लागि विद्यार्थी आन्दोलित हुनुपर्ने अवस्था दुखद भएको बताए । ‘यो घरभित्रको समस्या हो । समस्या घरभित्रै मिल्नुपर्छ र नमुना परिवार बनाउनुपर्छ, उनले भने–क्याम्पसको उन्नतीका लागि यस्ता अनसन अब बस्न नपरोस् । समयमै सचेत भएर क्याम्पस प्रशासनले माग सम्बोधन गरोस् ।’ अनसन तोडेपछि विद्यार्थी कृष्ण अधिकारीले देशमा सुशासन कायम गर्ने अभियान पिएन क्याम्पसबाट सुरु गर्नुपर्ने धारणा राखे । ‘पिएन गौरवपूर्ण इतिहास बोकेको क्याम्पस हो । परिवर्तनका धेरै आन्दोलन यहीँबाट सुरु भएको थियो, उनले भने–अव नेपालको समृद्धी र विकासका लागि अभियान यहीँबाट थालनी हुन्छ । त्यसको नेतृत्व पिएन क्याम्पसले लिन्छ ।’ अर्का विद्यार्थी नरेन्द्र बसेलले ब्यवस्था परिवर्तनका लागि लड्ने क्याम्पसमा अहिले आफ्नै अवस्था फेर्न विद्यार्थी अनसन बस्ने अवस्था सिर्जना हुनु चानचुने कुरा नभएको बताए । ‘पिएनले ठूला विषयहरु उठाएर बहस थाल्नुपथ्र्यो, उनी भन्छन्–प्रदेशस्तरीय लिडर क्याम्पसको हैसियत पाएको पिएनले प्रदेशको आर्थिक, सामाजिक, शैक्षिक मुद्धाहरु उठाउनुपर्छ । प्रदेशकै विश्वविद्यालयको रुपमा स्थापित गर्न लाग्नुपर्छ । हामी साथमा छौं ।’
शुक्रबार भएको सहमतिअनुसार क्याम्पसले गत बर्षको महालेखा परीक्षकको प्रतिवेदन सहित फागनु १० गते सबै आय ब्यय सार्वजनिक गर्नेछ । यस्तै निर्माणाधीन स्वर्ण जयन्ती स्मृति भवनको बारेमा हाल अदालतमा मुद्धा विचाराधीन भएकाले आवश्यक सबै प्रक्रिया पूरा गरी भवनका कोठाहरु एकमहिना भित्रै सञ्चालनमा ल्याउने र क्याम्पसमा शिक्षक नियुक्ती गर्दा राजनीतिक भागबण्डामा नगरी त्रिवि सेवा आयोगको प्रतिनिधीको उपस्थितीमा मापदण्ड तयार गर्ने सहमति भएको छ । आउँदो शैक्षिक सत्रदेखि क्याम्पसका सबै काम डिजिटल प्रणाली अनुसार ब्यवस्थापन गर्ने, त्रिविमा रहेको दुई शिक्षा प्रणालीका सम्बन्धमा र क्याम्पसको अरु शैक्षिक र भौतिक विकासका लागि सिनियर प्राध्यापकको संयोजकत्वमा एक साताभित्रै सुझाव समिति गठन गर्ने सहमति पनि गरिएको छ । सहमति पछि क्याम्पस प्रशासनमा लगाईएको ताला पनि खोलिएको छ । त्रिवि प्रतिनिधी गंगाबहादुर थापा र नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय महासचिव नेत्रप्रसाद चापागार्इंको रोहवरमा क्याम्पस प्रमुख चन्द्रबहादुर थापा र अनसनरत विद्यार्थीहरु नरेन्द्र बसेल तथा कृष्ण अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । पारदर्शीता र शुन्य सहनशिलताको माग सहित नयाँ शक्ति विद्यार्थी युनियनमा आवद्ध दुई विद्यार्थीहरु आईतबारदेखि आमरण अनसन बसेका थिए ।