पिएनको झडप रोकियो, अवस्था सामान्य

पोखरा, जेठ २९ ।
करिब ३ घण्टाको झडपपछि पोखराको पिएन क्याम्पसको अवस्था सामान्य भएको छ । प्रहरीले राँके जुलुसमा हस्तक्षेप गरेपछि विद्यार्थीले प्रतिवाद गरेका थिए । केही समय चर्को नाराबाजी र ढुंगामुढा भएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन अश्रुग्याँस र हवाई फायर समेत गरेको थियो ।

ढुंगामुढा गरेर प्रहरीलाई पछि हटाएपछि नाराबाजी गर्दै गेट बाहिर आएर विद्यार्थीले कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले नेविसंघको आन्दोलनले पञ्चायत र राजतन्त्र अन्त्य गरेको भन्दै दमन गरे अहिलेको सरकारलाई पनि घुँडा टेकाउने साहस भएको चेतावनी दिए । उनले जनसरोकारसँग जोडिएको मुल्यबृद्धी नियन्त्रण नगरे चरणबद्ध आन्दोलन भैरहने बताएका छन् । ढकालले जनताको पक्षमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप गरी हवाई फायर गर्नु र अश्रु ग्याँस प्रहार गर्नु निन्दनीय भएको गुनासो गरेका छन् ।

सभामा पिएन क्याम्पसका सभापति दीपक शर्मा वाग्ले, नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ, जिल्ला सभापति विकास थापा, नेविसंघ पिएनका नेता रेशम हमाल लगायतले आफ्ना धारणा राखेका थिए । उनीहरुले तुरुन्त मुल्यबृद्धी फिर्ता लिनुपर्ने र बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णय सच्चिनुपर्ने माग राखेका छन् ।